Home मुख्य समाचार विद्यालयमा अतिरिक्त क्रियाकलाप शून्यप्रायः प्रतियोगितामा भने ६० प्रतिशत विद्यालय सहभागी

विद्यालयमा अतिरिक्त क्रियाकलाप शून्यप्रायः प्रतियोगितामा भने ६० प्रतिशत विद्यालय सहभागी

हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा ६० प्रतिशत विद्यालयका विद्यार्थीको सहभागिता रहने गरेको छ । वार्षिक शैक्षिक क्यालेन्डरमा ५ अतिरिक्त क्रियाकलाप समावेश गरेको हेटौंडा उपमहानगरपालिकाले ३ वटा प्रतियोगिता आयोजना गर्दा ६० प्रतिशत विद्यालयका विद्यार्थीको सहभागिता देखिएको हो । विद्यार्थीको ज्ञान तथा क्षमता विकासका लागि स्थानीय तहले अतिरिक्त क्रियाकलापमा जोड दिए पनि विद्यालयमा भने अतिरिक्त क्रियाकलाप शून्यप्रायः छ । दिवसीय कार्यक्रम अन्तर्गत पनि विभिन्न प्रतियोगिताहरु गरिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो ।

माध्यमिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिता, अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता भने भइसकेका छन् । यस्तै दिवसीय कार्यक्रम अन्तर्गत उपमहानगरले बालदिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र संविधान दिवसको अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको थियो । गणित/विज्ञान प्रदर्शनी, राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगिता र माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता भने गर्न बाँकी रहेको उहाँले बताउनुभयो । दिवसीय कार्यक्रम अन्तर्गत शहिद दिवसको अवसरमा अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगिता हुनेछ । वार्षिक कार्यक्रम बाहेक उपमहानगरले कविता लेखन तथा वाचन र आधारभूत तथा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता, नृत्य र चेस प्रतियोगिता हुन बाँकी रहेको खड्काले जानकारी दिनुभयो ।

प्रतियोगिताहरु सञ्चालन गर्दा निबन्ध लेखनमा सबैभन्दा बढी विद्यालयका विद्यार्थी र चित्रकलामा पनि उत्तिकै सहभागी रहेको देखिन्छ । विद्यार्थीले आफ्नै कला देखाउन पाउने हुँदा चित्रकला प्रतियोगिता सबैभन्दा उत्कृष्ट बन्न पुगेको शिक्षा अधिकृत खड्काको भनाइ रहेको छ । अन्तरविद्यालय निबन्ध प्रतियोगिता हुँदा एक सय जना र चित्रकला प्रतियोगिता हुँदा ७४ विद्यालयका विद्यार्थी सहभागी थिए । कोरोना कहरकै बीच अनलाइनबाट प्रतियोगिताहरु सञ्चालन तथा आयोजना गर्दा उत्कृष्ट विद्यार्थीको पहिचान गर्न गाह्रो समेत भएको बताउनुभयो । इन्टरनेट, मोबाइल र बाहिरी वातावरणले पनि विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुन कठिन भएको उहाँको भनाइ छ । विद्यार्थीको क्षमता विकाससँगै प्रतिभा प्रष्टफूटन गर्न अतिरिक्त क्रियाकलापका लागि २० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ ।

अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउनु सबै विद्यालयका विद्यार्थीको अधिकार हो । तर केही विद्यालयहरुले भने उपमहानगरले आयोजना गरेको कुनै पनि प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराएको पाइएको छैन । विद्यालयहरुले आन्तरिक स्रोतका आधारमा हरेक शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्ने हुन्छ । दिउँसो १ बजेसम्मको पढाई सकिएपछि ४ बजेसम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने हुन्छ । तर विद्यालयहरुले भने अतिरिक्त क्रियाकलापमा वेवास्ता गर्दै आइरहेका छन् । विद्यालय सञ्चालन तथा व्यवस्थापन र विद्यार्थी लागतको आधारमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

अनिवार्य तथा निशूल्क शिक्षा ऐन २०७५ अनुसार कुनै पनि कारण र आवश्यकता देखाइ विद्यार्थीबाट शूल्क लिन पाइँदैन । जसकारण सामुदायिक विद्यालयहरुले अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिन नसकिएको शिक्षकहरुको भनाइ छ । संस्थागत विद्यालयका आर्थिक स्रोत नै विद्यार्थी भएका कारण प्रायः संस्थागत विद्यालयहरुले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेको खड्काले बताउनुभयो । एक विद्यालय एक शिक्षकलाई समेटिने कार्यक्रम रहेको बताउनुभयो । कार्यविधि बनाई प्रस्ताव पेश हुनासाथ कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उपमहानगरमा ७६ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय रहेका छन् ।

Exit mobile version