नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ बिजयी हुनुभएको छ । आइतबार भएको दोस्रो चरणको मतदानमा देउवा पक्षका बानियाँले पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्नुभएको हो । बानियाँले कुल खसेको २०२५ मत मध्ये १ हजार ८५ मत पाउनुभयो । यस्तै केसीले ९ सय २७ मत पाउनुभयो भने १३ मत बदर भएको थियो ।

बिहीबार हेटौंडामा सुरु भएको प्रदेश अधिवेशनमा शुक्रबारबाट निर्वाचनको प्रक्रिया सुरु भएको थियो । प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ, पौडेल पक्षका केसी र सिटौला पक्षका भीमसेन दासबीच शनिबार पहिलो चरणको मतदान भएको थियो । सभापतिका आकांक्षी मध्ये कसैले पनि ५१ प्रतिशत भन्दाबढी मत ल्याउन नसक्दा आइतबार दोस्रो चरणको मतदान भएको हो ।

नेपाली कांग्रेसको आन्तरिक चुनाव जितेसँगै बागमती प्रदेश सांसद एवम् नवनिर्वाचित प्रदेश सभापति बानियाँले कांग्रेसलाई अझै चुनौती भएको बताउनुभयो । उहाँले अहिले कांग्रेसको यसले जित्यो उसले जित्यो भन्दा पनि यो आन्तरिक प्रतिस्पर्धा हो, जिम्मेवारीको कुरा हो । यसलाई सामान्य रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसलाई जनताको बीचमा जिताउनु चुनौती रहेको उहाँले बताउनुभयो । कम्युनिष्टहरुको भण्डाफोर गरेर जनतासामु जानुपर्ने भन्दै जनतामा छरेका भ्रमलाई कांग्रेसले अन्त्य गर्ने बानियाँले बताउनुभयो । ‘अहिले कसले जित्यो कसले हार्‍यो भन्ने कुरै छैन । सबैले जितेको हो । कांग्रेसले जितेको हो ।’ उहाँले भन्नुभयो ।

बानियाँले प्रदेश सभापतिमा विजयी भएपनि आफूलाई लगाएको माला र खादा बहिस्कार गर्नुभएको छ । उहाँले बागमती प्रदेशको १३ जिल्लामा जनताको सामु कांग्रेसलाई जिताएपछि मात्रै आफूले माला र खादा लगाउने घोषणा गर्नुभएको छ ।

बानियाँले कांग्रेसको नेता भिमसेन दास प्रधानप्रति सम्मान व्यक्त गर्नुभएको छ । कांग्रेसमा उहाँले आफूलाई समर्थन गरेर आफ्नो राजनैतिक छवी प्रस्तुत गरेको भन्दै धन्यवाद समेत दिनुभयो । यस्तै प्रधानले कांग्रेसलाई उर्जावान र गति दिन सक्ने व्यक्तिले जिम्मेवारी पाएको बताउनुभयो । उहाँले कांग्रेसलाई प्रदेशमा अब दु्रत गतिमा दौडाउन भूमिका खेल्न सुझाव दिनुभएको छ ।

बानियाँको यस्तो छ राजनीतिक इतिहास
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानियाँ २०४४ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै अगाडि बढेको बानियाँको राजनीति २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्री, २०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित हुँदै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता एवम् प्रमुख प्रतिपक्षीको भूमिकामा रहिसक्नुभएको छ । स्पष्ट वक्ताको रुपमा बानियाँलाई चिनिन्छ ।