हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र र प्लान नेपालको संयुक्त आयोजनामा बुधबार अनुगमन भएको छ । ग्रामीण र प्लान नेपालद्वारा सञ्चालित सिओसी कक्षा, स्वास्थ्यचौकी र गठित सक्षम युवा सञ्जालको अनुगमन भएको हो । हेटौंडा—१२ स्थित प्रतिभा आधारभूत विद्यालयमा सञ्चालित सिओसी शिक्षा समुदायमा कतिको प्रभावकारी छ भन्ने विषयमा अनुगमन भएको छ । जुन विद्यार्थीले प्राप्त गरेका ज्ञान आफ्ना अभिभावकसमक्ष कतिको सम्प्रेषण गर्न सके या सकेन भन्ने विषयमा अनुगमन भएको हो । १०—१५ र १६—२४ वर्षका किशोरकिशोरीबीच सिओसी शिक्षा पठनपाठन हुने गरेको छ । किशोरकिशोरीले प्राप्त गरेका ज्ञान व्यवहारमा प्रभावकारी भए या भएन भन्ने विषयमा अभिभावकसँग छलफलसमेत भएको छ ।
परिवार तथा सामुदायमा बालअधिकार, लैंगिकता, यौन तथा प्रजनन् शिक्षा सचेतना कार्यक्रममा किशोरकिशोरीको भूमिकाबारे सिओसी कक्षा सञ्चालित छ । आफ्ना बालबालिकाको शैक्षिक विकासमा अभिभावकको भूमिका नेतृत्वदायी हुन्छ भन्ने उद्देश्यले अभिभावकलाई सचेतनासमेत गरिएको छ । मकवानपुरमा मात्र ५६ वटा सिओसी कक्षा सञ्चालनमा रहेको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले शिक्षा ज्ञान मात्र नभई व्यवाहरमा समेत देखिनुपर्ने बताउनुभयो । बेचबिखनविरुद्व र दक्ष जनशक्ति पलायन हुन नदिन स्वरोजगारबारे समेत शिक्षा दिनुपर्ने बताउनुभयो ।
यसैगरी, हेटौंडा—१३ स्थित स्वाथ्य चौकी (हेल्थपोष्ट)बाट कतिको स्वास्थ्य सेवा प्रभावकारी छ भन्ने विषयमा अनुगमन भएको छ । १२ र १३ वडाका विभिन्न सञ्जालमा क्रियाशील किशोरीलाई स्वास्थ्य चौकीमार्फत् पाएका सुविधाको सहजीकरणसमेत भएको छ । किशोरीहरुले निःशुल्क कण्डम वितरण भइरहँदा सेनेटरी प्याडसमेत स्वास्थ्य चौकीबाट निःशुल्क माग गरेको छ । स्वाथ्य चौकीमा महिलाका लागि परामर्श कक्षा हुनुपर्ने माग किशोरीहरुको रहेको छ । स्वास्थ्य चौकीका इन्चार्ज धनेश्वर साहले स्वास्थ्य सेवाबारे किशोरीलाई सहजीकरणसमेत गर्नुभएको थियो । शाहले १७ वर्षदेखि ४३ वर्षसम्मका गर्भवती महिलाहरु स्वास्थ्य चौकी आउने गरेको बताउनुभयो । करिब १५ जना गर्भवती महिला स्वाथ्य चौकी आउने गरेको जानकारी दिनुभयो । स्वास्थ्यसेवा वापत १३ सय रुपैयाँ सुत्केरी खर्च स्वास्थ्य चौकीबाट उपलब्ध भइरहेको जानकारी दिनुभयो ।
२० वर्षभन्दा मुनिका गर्भवती महिला भने सेवासुविधाबाट वञ्चित रहेको इन्चार्ज साहले बताउनुभयो । लाजका कारण स्वास्थ्य सेवा सुविधा माग गर्न नआउने गरेको उहाँले जानकारी दिनुभयो । नजिककै स्वास्थ्य चौकीमा व्यवस्थित गर्भपतन तथा स्वाथ्य परीक्षणका लागि समुदायमा सकारात्मक धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम भएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित शिखरकटेरीमा सक्षम युवा सञ्जालका किशोरकिशोरीबिचको अन्तरक्रिया कार्यक्रमसहित अनुगमन भएको छ । निर्णय तथा नेतृत्व विकासमा किशोरकिशोरीको सक्रियता वृद्विबारे अनुगमन भएको हो ? समाज परिवर्तका सम्बाहक किशोरकिशोरी समाजका विकृति र विसंगतिविरुद्व सक्रिय देखिएको छ । वडा २ मा सक्षम युवा सञ्जालमार्फत् ३ वटा बालविवाह रोक्न सफल भएको सञ्जालका अध्यक्ष रुपा तिमल्सिनाले बताउनुभयो । यस्तै बालविवाहविरुद्व वडाको समन्वयमा सडक नाटकसमेत गरेको तिमाल्सिनाले बताउनुभयो ।
आर्थिक समस्या र प्रशिक्षणकै कमीले सानै उमेरमा विवाह गर्न हुँदैन भन्ने जानकार भएपनि बालविवाह हुने गरेको उहाँको भनाई छ । मंसिर ४ गते मात्रै १४ वर्षीय किशोरी र २० वर्षका किशोरबीच हुन लागेको विवाह रोकिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले हिंसाको हिस्सेदार किशोर पनि रहेकाले किशोरको सहभागितालाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । गाउँमा लाग्ने हाटबजार, जात्रा तथा मेलमा किशोरीलाई लक्षित गरी बाहिरका पुरुषहरु आउने पुडासैनीले बताउनुभयो । जसकारण यसलाई मध्यनजर गर्दै बालविवाह न्यूनीकरणमा सञ्जालले अतुलनीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । युवा सञ्जाल १४ वटा रहेका छन् । अनुगमनमा स्थानीय तह, मिडियाको प्रतिनिधित्व हुने गरी बुधबार अनुगमन भएको हो । अनुगमनमा ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला कार्की, निर्णय तथा नेतृत्व कार्यक्रमका संयोजक दीपक न्यौपाने, ग्रामीणकै रोजिता दंगाल र प्लान नेपालका प्रशुना राईलगायतको उपस्थिति रहेको थियो ।