हेटौंडाः मकवानपुरमा बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक पर्व समा–चकेव मनाएका छन् । शनिबार हेटौंडा–९ लामसुरेबाट एक समूह कुखरेनी खोलामा गई समा–चकेवा सेलाएको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

समा–चकेवा पर्व दाजुभाई र दिदिबहिनीहरु बीचको पवित्रप्रेम, स्नेह र सद्भावको प्रतिकको रुपमा मनाउने पर्व भएको चौधरीले बताउनुभयो । यो पर्व तराईमा बसोबास गर्ने थारु समुदायसँगै अन्य समुदायले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन् । सामाजिक रितिरिवाज, पारिवारिक संस्कार, परम्परा र संस्कृतिलाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रुपमा मान्ने गरेको पनि चौधरीले जानकारी दिनुभयो ।

जसमा माटोका विभिन्न आकृतिहरु समा, चकेवालगायत सतभैंया, चुगला वृदावन, मृदंगिया, झाइलबाला, पिपहीवाला, नटुवा, मलिनिया, कुताभमरा आदि बनाएर डालामा राखेर साँझ खाना खाएर दिदिबहिनीहरु एकठाउ“मा जम्मा भई लोकगीत, झमटा र भजनकीर्तन गाउँदै, नाचगान गर्दै मनोरञ्जनात्मक तरिकाले मनाउने उहाँले बताउनुभयो ।

समा–चकेवा पर्व गोबर्धन पुजादेखि प्रारम्भ भएर कार्तिक शुक्लपक्ष पूर्णिमाको तिथिसम्म मनाउने र यो पर्वको अन्तिम दिन नजिकमा रहेको पोखरी, तथा खोलामा गई समा–चकेवा लगायत बनाएका माटोका विभिन्न आकृतिहरुलाई विधिपूर्वक पुजाआजा गरी दहि, चिउरा, सख्खर, खिर लगायतका सामग्रीहरु प्रसादको रुपमा उपस्थित सम्पूर्ण मान्यजन, दाजुभाई तथा दिदिबहिनीहरुलाई खुवाएर बिसर्जन गर्ने चलन रहेको छ ।

कार्यक्रम थारु महिला सभाकी सभापति द्रोपति चौधरी, उपसभापति रिना चौधरी, थारु कल्याणकारिणी सभाका सभापति हरिलाल चौधरी, सचिव चन्द्रकान्त चौधरी, सल्लाहकार किशोर कुमार चौधरी, सचितानन्द चौधरी, थारु विद्यार्थी सभाका सभापति राजेशप्रसाद चौधरी, थारु युवा सभाका सभापति परमानन्द चौधरी, थारु महिला सभाका केन्द्रिय उपाध्यक्ष अमिता चौधरी, नेपाल भारत मैत्री बहुप्राविधिक शिक्षालयका प्रमुख रामनारायण चौधरी लगायतका थारु वुद्धिजिवी, कर्मचारी र विद्यार्थीको उपस्थिति रहेको थियो ।