आयोजक ‘ए’ टिमलाई उपाधी हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा भएको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक वडा नम्बर ४ को ‘ए’ टिमले जितेको छ । शनिबार बागमती–४ मा भएको फाइनल खेलमा आयोजक ‘सी’ लाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक ‘ए’ ले उपाधी हात पारेको प्रतियोगिताका संयोजक मुक्ति लामाले जानकारी दिनुभयोे ।

जितसँगै आयोजक ‘ए’ टिमले नगद ६० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको आयोजक ‘सी’ टिमले भने ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको रुपमा आयोजक ‘सी’ का उमेश थिङ घोषित भएका छन् । उनलाई नगद २ हजार रुपैयाँसहित मेडल प्रदान गरिएको छ । यस्तै उत्कृष्ट फरवार्ड आयोजक ‘ए’ का अरुण थिङ, उत्कृष्ट मिडफिल्डर आयोजक ‘ए’ का बुद्ध बल, उत्कृष्ट डिफेन्डर आयोजक ‘सी’ का बिक्रम घिसिङ, उत्कृष्ट गोलरक्षक आयोजक ‘ए’ का उमेश पाख्रिन र सर्वाधिक गोलकर्ता वडा २ का आकाश राना घोषित भएका छन् । उनीहरुले समान ५–५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताका संयोजक मुक्ति लामाको सभाध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ४ नम्बर वडाध्यक्ष रहरमान थिङ, बागमती खेलकुद विकास समितिका अध्यक्ष भीम राई लगायतको आतिथ्य रहेको थियो ।