स्वेच्छिक अवकास रोज्ने शिक्षकलाई सम्मान गरी विदाई कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका १३ जना शिक्षकले स्वेच्छिक अवकास रोजेका छन् । उमेर हद र सेवा अवधिका हिसाबले अवकास हुने उमेरमा पुुगेका अग्रज शिक्षकलाई नगदसहित सम्मान गर्दै अवकास दिलाएर युवा पुस्ताका शिक्षकलाई विद्यालयमा प्रवेशको अवसर सिर्जना गर्ने गरी पालिकाले स्वेच्छिक अवकासको योजना ल्याएको थियो ।

स्वेच्छिक अवकास रोज्ने शिक्षकहरुलाई सोमबार गाउँपालिकाले सम्मान गरेर विदाई गरेको छ । गाउँपालिकाले सेवा अवधि २ बर्ष बाँकी रहेका २ जना शिक्षकलाई जनही २ लाख रुपैयाँ, ४ बर्ष सेवाअवधि बाँकी भएका ४ जना शिक्षकलाई जनही ३ लाख रुपैयाँ, ७ बर्ष सेवा अवधि बाँकी भएका ३ जना शिक्षकलाई जनही ४ लाख रुपैयाँ र ७ बर्षभन्दा बढी सेवा अवधि बाँकी भएका ४ जना शिक्षकलाई जनही ५ लाख रुपैयाँका दरले नगदसहित सम्मान गरेर विदाई गरेको हो । १३ जना शिक्षकलाई स्वेच्छिक अवकासका लागि प्रोत्साहित गर्ने क्रममा गाउँपालिकाले ४८ लाख रुपैयाँ नगद वितरण गरेको छ ।

स्वेच्छिक अवकास कार्यक्रमले गाउँपालिकाका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षता तथा जिल्ला शिक्षा समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा शिक्षक विदाई कार्यक्रम भएको हो । गाउँपालिकाले पहिलो पटक स्वेच्छिक अवकास कार्यक्रम सञ्चालन गरेको हो । चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक गाउँपालिकाले स्वेच्छिक अवकास कार्यक्रम ल्याएको हो । मकवानपुरगढी गाउँपालिकामा ३९ वटा विद्यालय छन् ।