मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः मकवानपुर जिल्लामा केही दिनयता बढ्दो सवारी दुर्घटनाप्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाको सहभागितामा बसेको बैठकले सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको भनी प्रहरीले कडाईका साथ सुरक्षाजाँच गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले दुर्घटनाको जोखिम भएको क्षेत्रमा सडकबत्ति, ट्राफिक संकेतलगायतका पूर्वाधार जडान गर्ने, लामो दूरीका यातायातका साधनमा दुईजना चालक राख्ने व्यवस्था मिलाउन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गमा टाइमकार्डको व्यवस्था गरिनेछ भएको छ ।

यस्तै हेटौडा बजार क्षेत्रमा ई–रिक्सा र अटो मुख्य राजमार्ग तथा सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र व्यवस्थितरूपमा सञ्चालन गर्ने सम्बन्धमा वस्तुस्थित एवम् सम्भाव्यता अध्ययनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको संयोजकत्वमा उप–समिति गठन गरिएको छ । सो समितिले आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयावधि दिइएको छ ।