हेटौंडाः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) अन्तर्गत् आज बुधबार काग तथा कुकुर तिहार मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष काग तिहार र कुकुर तिहार दुबै आज बुधबार परेको हुँदा आज काग र कुकुर दुबैको पूजा गरिँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज पहिलो दिन काग र कुकुर तिहार परेको हो । यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ । यसदिन कागलाई मिठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।
आज बुधबार नै कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ । नरक चतुर्दशीको दिन बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रशन्न हुने धार्मिक विश्वास छ । स्नानपछि कुकुरलाई मिठा खानेकुरा खान दिइन्छ । कुकुरलाई पनि यमदूतका रुपमा मानिन्छ ।

कात्तिक १८ गते बिहीबार कार्तिक कृष्ण औंशीका दिन गाई तथा लक्ष्मीपूजा गरिन्छ । परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भैलो खेल्ने चलन छ ।

यस वर्ष कात्तिक १९ गते शुक्रबार कात्तिक शुक्ल प्रतिपदाका दिन गोरु तिहार र गोवद्र्धन पूजा गरिँदैछ । नेवारी समुदायमा म्ह–पूजा पनि यसै दिन गरिन्छ । नेपाल सम्वत्अनुसार नयाँ वर्षको सुरुवात पनि यसै दिनबाट हुन्छ । यसदिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने परम्परा छ । हलीतिहार समेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

यस वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २० गते शनिबार भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवम् बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पाँच दिनसम्म झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले तिहारको पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन कात्तिक शुक्ल त्रयोदशीदेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने परम्परा छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ । हिन्दूहरुको दोस्रो ठूलो पर्वका रुपमा दीपावली अर्थात् तिहार मनाइने गरिन्छ । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्ने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमिन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ । परेको छ भने २० गते शनिबार भाइटीका परेको छ । यसवर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।