हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम गरेको छ । मंगलबार विद्यालय परिसरमै देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।
अभिभावक तथा विद्यालयका सरोकारवालाको उपस्थितिमा विद्यार्थीको देउसीभैलो कार्यक्रमलाई विद्यालय प्रशासनले सहजीकरण गरेको थियो । विद्यार्थीले नेपाली मौलिक संस्कृतिका नृत्यकला, गायन प्रस्तुती गर्नुका साथै देउसीभैलो पनि प्रस्तुत गरेका थिए । विद्यार्थीको प्रस्तुती हेरेर कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरुले नगद दान पनि गरेका थिए । मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै विद्यार्थीको कला प्रस्तुतीका लागि देउसीभैलो कार्यक्रम आयोजना गर्न विद्यार्थीलाई प्रेरित गर्नुका साथै आवश्यक सहजीकरण गरिएको विद्यालयका प्रिन्सीपल नवीन केसीले जानकारी दिनुभएको छ ।
विद्यालयका प्रिन्सीपल नवीन केसीको अध्यक्षतामा भएको देउसीभैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्याव्सन मकवानपुरका निवर्तमान अध्यक्ष मदनकुमार दाहाल, प्याव्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।