अवैध लागूऔषध गाँजाखेती खोजी गर्न प्रहरीले प्रयोग गरेको ड्रोन ।

हेटौंडाः मकवानपुर जिल्लामा अवैधरुपमा हुने लागूऔषध गाँजाखेतीको खोजी गर्न प्रहरीले ड्रोनको प्रयोग गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण व्यूरो काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा प्रहरी नियन्त्रण गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ड्रोनको सहायतामा लागूऔषधको खेती खोजी गर्दै फँडानी गर्ने कार्यलाई तीव्रता दिएको छ ।

प्रहरीले प्रयोग गरेको ड्रोनले लिएको तस्वीर ।

प्रहरीले तीन दिनमा मकवानपुरको कैलाश गाउँपालिकामा मात्रै ४५ बिगाहा १० कठ्ठा क्षेत्रफलको गाँजाखेती नष्ट गरेको जनाएको छ । प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलीले आइतबार, सोमबार र मंगलबार तीन दिनको अवधिमा कैलाश गाउाँलिकाको वडा नं. ४, ७, ९, १० मा ४५ बिगाह १० कठ्ठामा लगाएको अबैध लागूऔषध गाँजाखेती फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा फँडानी गर्दै प्रहरी ।

मंगलबार मात्रै प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–९ को गैरीखेत, खुमलटार, बेलटार, सागिनी, कैलाश गाउँपालिका–४ को बैठकडाँडा, तकुवा, आमडाँडा र कैलाश गाउँपालिका–१० को भालटारमा १८ बिगाहा लागूऔषध गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ ।