हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री पदमा आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माले आह्वान गरेका छन् । भोलि बिहीबार दिउँसो ३ बजेसम्मको लागि दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनेछ । बागमती प्रदेशमा स्पष्ट बहुमत नरहेको अवस्थमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने काुननी व्यवस्था छ ।
बागमती प्रदेशमा बुधबार अष्टलक्ष्मी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गरेसँगै भोलि नयाँ सरकार गठन हुने भएको हो । बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको छ । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन । उनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिसकेका छन् । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र माओवादीको २३ गरेर ५८ जना सांसद छन् ।