हेटौंडाः नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । आज देवीमन्दिर, शक्तिपीठ तथा जमरा राखिएको घरघरमा भगवती ब्रह्मचारिणीको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।
दशैंको दोस्रो दिन आज शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृह मन्त्रालयले केही दिनअघि सूचना प्रकाशित गरेर झण्डा फेर्ने शुभसाइत सार्वजनिक गरेको थियो ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गा भगवतीको विशेष पूजा आराधना गरिन्छ । नवरात्रभर नवदुर्गा भगवतीका ९ वटा रुपहरुको पूजा गर्ने गरिन्छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
ब्रह्मचारिणी भगवतीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी भगवतीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्यजस्तो परम् पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
देवी भगवतीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा छ ।