हेटौंडाः हेटौंडा—४ स्थित भूटनदेवी रोभररेन्जर क्र्यु पुनः सञ्चालनमा आएको छ । बिहीबार क्र्यूको उद्घाटन, दिक्षान्त तथा विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा शुभकामना सहित चियापन कार्यक्रम भएको हो ।
दिक्षान्त समारोहबाट १७ जना रोभर रेन्जर दिक्षित भएका छन् । कार्यक्रममै भूटनदेवी रोभर रेन्जर क्र्यूलाई नेतृत्व प्रदान गरिएको छ । क्र्यूको अध्यक्षमा भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल चयन हुनुभएको छ । यसैगरी क्र्यूको सचिव तथा लिडरमा मुकेश मिश्र, सदस्यमा लक्ष्मण भण्डारी, राजकुमार यादव, विजय मगर र जमुना थिङलाई चयन गरिएको छ ।
कार्यक्रमका प्रमूख अतिथि नेपाल स्काउट हेटौंडा उपमहानगरपालिकाका संयोजक देपेन्द्र रोक्काले समाज र देशका सेवामा समर्पित संघसंस्था धेरै भए पनि नेपाल स्काउटमा धेरै सदस्य भएको तथा सरकारद्वारा नै सञ्चालित संस्था भएको बताउनुभएको छ । देशको सेवामा समर्पित मेरुदण्ड रुपमा नेपाल स्काउट रहेकाले पुनः सञ्चालनमा आएको क्र्यूले निरन्तरता पाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
युवाहरुको सर्वाङ्गिन व्यक्तित्व विकासको उद्देश्यले क्र्यूको स्थापना गरिएको जनाइएको छ । भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियोे । समाज र देशका सक्रिय रुपमा क्याम्पस तहका रोभररेन्जर जोडिदै निरन्तर रुपमा अघि बढ्न विद्यालयले थप सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल स्काउट हेटौंडा उपमहानगरपालिकाका सदस्य विष्णु श्रेष्ठ र मेनका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।