हेटौंडाः मकवानपुर जिल्लामा कक्षा ११,१२ अध्यापन हुने सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको दुई दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्लाको उत्तरी क्षेत्र चितलाङमा शनिबार सम्पन्न गोष्ठीमा कक्षा ११ र १२ सञ्चालन गरिरहेका सामुदायिक विद्यालयका २१ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
हेटौंडा–११ स्थित त्रिभुवन माविका प्रधानाध्यापक नारायण भण्डारीले कक्षा ११ र १२ को सबालमा स्थानीय तहलाई जिम्मा दिँदा खासै जिम्मेवारीप्रति चासो नदिएको बताउनुभयो । सीटीईभीटी र शिक्षा तथा मनाव स्रोत विकास केन्द्रद्वारा सञ्चालित दुईवटा प्राविधिक शिक्षाबीच तालमेल नभएको उहाँले बताउनुभयो । परीक्षा प्रणाली फरक, शुल्कमा एकरुपता नभएको साथै व्यवहारमा असमानताप्रति प्रधानाध्यापकहरुको गम्भीर ध्यानाकर्षण भएको भण्डारीले जानकारी दिनुभयो । केही प्राविधिक शिक्षा सञ्चालन गरिरहेका मावि र अन्य क्याम्पसहरुले शैक्षिक गुणस्तरको नाममा चर्को शुल्क असुलिरहेको पाइएको उहाँले बताउनुभयो ।
प्राविधिक धारतर्फका दुई शैक्षिक संस्थाबीच पनि एकअर्कामा विश्वास गुम्ने प्रचुर सम्भावनाप्र्रति सरकारको ध्यानाकर्षण हुन आवश्यक रहेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । क्याम्पसहरुलाई कक्षा ११ र १२ पठनपाठन गराउन अनुमति नभएको अवस्थामा क्याम्पसले कक्षा ११ मा विद्यार्थी भर्ना लिन नहुने उहाँको भनाई थियो । एसईई उत्तीर्ण भएको सक्कल ग्रेडसिट तथा विद्यालयको चारित्रिक प्रमाणपत्रबिना नै क्याम्पसहरुले विद्यार्थी भर्ना लिने गरेको आरोप प्रधानाध्यापक भण्डारीले लगाउनुभयो । शिक्षा क्षेत्रका यस्ता समस्याले विद्यार्थीको भविष्य कतातिर लम्किँदैछ भन्ने प्रश्नचिन्ह खडा भएको उहाँले बताउनुभयो ।
हेटौंडा–६ मा रहेको वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले अहिलेको अवस्थामा शैक्षिक विषमता, असक्षमता, असमानताले कक्षा ११ र १२ का विद्यार्थी अन्यौलतामा परेको बताउनुभयो । निषेधाज्ञालाई समेत मध्यनजर गर्दै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा प्रणाली र नतिजामा एकरुपता ल्याउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको उहाँले बताउनुभयो । अहिले गाउँगाउँमा समेत उच्च शिक्षा हासिल गर्ने विद्यालय भएको अवस्थामा शहरका क्याम्पसहरुमा गुणस्तरीय शिक्षाको नाममा विद्यार्थी भर्ना भएको बताउनुभयो । यसले कतिपय आर्थिक अवस्था कमजोर भएका विद्यार्थीमा आर्थिक समस्या बढ्ने खतरा रहेको पनि प्रधानाध्यापक लामिछानेले बताउनुभयो । कतिपय क्याम्पसहरुले विद्यार्थीसँग राष्ट्रिय परीक्षा बोर्डले तोकिएको परीक्षा शुल्कभन्दा बढी शुल्क लिने गरेको पाइएको उहाँले बताउनुभयो ।
हेटौंडा–१९ को निर्मल माविक प्रधानाध्यापक प्रबोध बिडारीले मकवानपुर जिल्लाका कक्षा ११ र १२ अध्यापन गराउने माविको शैक्षिक गुणस्तरमा एकरुपता नभएको बताउनुभयो । शिक्षा ऐन तथा संविधानले डिप्लोमा तह सञ्चालन गरिरहेका क्याम्पसहरुले कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति नदिएकाले पत्रकार सम्मेलनमार्फत् स्थानीय तहलाई ध्यानाकर्षण गरिने उहाँले बताउनुभयो । विद्यालयले जारी गरेको शैक्षिक प्रमाणपत्रबिना क्याम्पसले विद्यार्थी भर्ना लिएको हो भने यस्ता कार्य रोक्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने निर्णय भएको प्रधानाध्यापक बिडारीले बताउनुभयो ।
प्रधानाध्यापकहरुको गोष्ठीले जनकल्याण मावि पालुङका प्रधानाध्यापक सानुभाइ कार्की संरक्षक रहने गरी वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । कक्षा ११ र १२ पठनपाठन हुने सामुदायिक माविको शैक्षिक गतिविधिमा एकरुपता कायम गर्दै भोगिरहेका समस्या समाधानका लागि योजना तयार गरिने लामिछानेले जानकारी दिनुभयो ।