हेटौंडाः हेटौंडा बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सञ्चान गरेको एक हप्ते अभियान सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको एक हप्ते अभियान मंगलबार सम्पन्न भएको हो । बजार क्षेत्रमा गाडि जाम हुने, जथाभावि गाडि पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भन्दै प्रहरीले एक हप्ते अभियान सुरु गरेको थियो ।
अभियानमा प्रहरीले हेटौंडा–४ स्थित स्कुल रोडमा पार्किङ क्षेत्र र नो पार्किङ क्षेत्रमा प्लेटहरु राखेको थियो । स्कुलरोडमा एकतर्फि पार्किङ र एकतर्फी नो पार्किङ व्यवस्था कायम गराएको थियो । यस्तै हेटौंडा–४ स्थित ओम भवनबाट पारिजात पथमा पनि एकतर्फी पार्किङ व्यवस्था गराएको थियो । यस्तै हेटौंडा–२ स्थित मानसचोकबाट नगरपालिका रोडमा पनि एकतर्फी पार्किङ व्यवस्था लागु गराएको थियो ।
अभियानमा जिल्ला ट्राफिक कार्यालय मकवानपुरबाट हेटौंडा बजार क्षेत्रमा मात्र ३२ ट्राफिक प्रहरीहरु खटाइएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभयो ।
यस्तै बजार क्षेत्रबाहेक मकवानपुरका राक्सिराङ ट्राफिक पोष्ट, भीमफेदी ट्राफिक पोष्ट, हेटौंडा–१९ स्थित नेवारपानी र हेटौंडा–१५ रातमाटे ट्राफिक पोष्टहरुबाट पनि केहि ट्राफिक प्रहरीहरु खटिएको थियो । अभियानमा मकवानपुरमा ४६ जना ट्राफिक प्रहरीहरु खटिएको प्रमुख पाण्डेले बताउनुभयो । अभियान प्रहरीले ट्राफिक नियम पालना नगर्ने, जथाभावि पार्किङ गर्ने सवारी साधनका चालकहरुलाई सम्झाई बुझाई छाडेको थियो ।