सांकेतिक तस्विर ।

हेटौंडाः हेटौंडा–१०, बासुदेव मार्गमा सुन पसल सञ्चालन गर्दै आएका व्यवसायी आइतबार अपहरणमा परेका छन् । हेटौंडा–१०, बासुदेव मार्गबाट बिहान ९ बजेको समयमा पसल खोल्न लागेका बेला अपहरणमा परेका ४० वर्षीय जितेन्द्र बिश्वकर्मालाई प्रहरीले हेटौंडा–५ बाट आइतबार बिहानै ११ बजेर ४० मिनेटमा सकुशल उद्दार गरेको जनाएको छ ।

अपहरणमा संलग्न भएको अभियोगमा प्रहरीले ४ जनालाई नियन्त्रणमा समेत लिएको छ । बिश्वकर्मालाई अपहरण गर्न प्रयोग गरिएको बा २० च ८९६० नम्बरको कारसहित हेटौंडा–१० का ३९ वर्षीय विनोद लाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ का ३२ वर्षीय बुद्ध लामा र हेटौंडा–२ का २७ वर्षीय आदेश लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अपहरण गरेर बिश्वकर्माको मोवाइल अफ गर्नुका साथै हेटौंडा–५, सानोपोखरास्थित मकवानपुर रिकभरिङ समूह परिसरमा राखेर केश मुण्डन समेत गरिसकेको अवस्थामा बिश्वकर्मालाई फेला पारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । सिसिटिभि फुटेज हेरेर घटनाको अवस्था र अपहरणमा प्रयोग भएको कारको पहिचान गरिएको प्रवक्ता रिमालले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । अपहरणको घटना बारे बुझ्न प्रहरीले बिश्वकर्माकी श्रीमतिलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन भनेको छ । यस्तै प्रहरीले बिश्वकर्मालाई आइतबार साँझ परिवारको जिम्मा लगाएको छ ।