केन्द्रदेखि ६ वटा प्रदेशमा एकलौटी सत्ता सञ्चालन गरेको नेकपा एमाले आफ्नै कारणले सत्ताबाट बेदखल हुँदैछ । राजनीतिक मूल्य र मान्यताका लागि भन्दै पार्टीभित्रै विद्रोह गर्दै आएका नेताहरु पछिल्लो पटक कुर्सी पाएपछि पुराना अडान छोडेर सम्झौता गरेका छन् । सैद्धान्तिक मूल्य र मान्यताको व्याख्या गर्दै ओलीसँग विमति राख्ने नेताहरु नै पदको पछि लागेपछि राजनीति स्वार्थका लागि मात्र रहेछ भन्ने प्रमाणित भएको छ । अध्यक्ष ओलीले राजनीतिक अपराध गरेको आरोप लगाउने अष्टलक्ष्मी शाक्यसमेत मुख्यमन्त्री पाएपछि पुराना अडान र मूल्य मान्यताको आदर्शबाट च्यूत भएकी छन् । तर उनको पद पनि यतिबेला जोखिममा परेको छ ।

एमाले विभाजन भएपछि प्रदेश संसदीय दलका कतिपय सांसदहरुले नयाँ दल रोजेका छन् । माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीमा सांसदहरु नजाउन् भन्नकै लागि अध्यक्ष ओलीले मुख्यमन्त्रीको पासा फालेका थिए । तर नेपाल गुटकै मुख्यमन्त्री नियुक्ति गरिए पनि नयाँ दलमा हालसम्म १२ जना सांसदहरुले सनाखत गरिसकेका छन् । जसले गर्दा मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । अब उनले पद जोगाउने हो भने नयाँ दल रोज्नुपर्ने हुन्छ, नत्र नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । कांग्रेस वा एकीकृत समाजवादी कसलाई मुख्यमन्त्रीको पद भाग लाग्ने भन्ने टुंगो हुन बाँकी छ । दुबै दलले दावी गर्ने बताएका छन् ।

देशमा सुरु भएको नयाँ राजनीतिक प्रणालीअन्तर्गतको प्रदेशसभाको पहिलो महिला मुख्यमन्त्रीको पद केही दिनको मात्र हुने भएको छ । आफूले नयाँ दल रोज्न नसक्ने अवस्था थियो भने मुख्यमन्त्री बनिहाल्नु हुने थिएन । पद पाउनासाथ हामफाल्ने नेपाली नेताहरुको चरित्रले गर्दा लामो राजनीतिक इतिहास र इमान्दार नेताको छविमा सत्ताको बाछिटा लाग्ने भएको छ । नेताहरुको भुलभुलैयामा लागेर मुख्यमन्त्री बन्दा अष्टलक्ष्मी शाक्यलाई यो पद यतिबेला गलपासो भएको छ । पद जोगाउन नयाँ दलमा जानसक्ने अवस्था शाक्यको देखिएको छैन । एमाले अध्यक्षले कमजोरी गरेको र त्यसप्रति आत्म आलोचित नगरेको अवस्थामा शाक्यजस्तो निष्ठाको राजनीति गर्नेका लागि त्यहाँ पनि सहज देखिँदैन । तर समाजवादीतर्फ आउन पनि सत्ताकै लागि आएको आरोप लाग्ने अवस्था छ ।

एमालेका १२ जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले प्रतिपक्षीमा पुग्ने भएको छ । संघदेखि प्रदेशमा एकछत्र सत्ता सञ्चालन गरेको एमाले आन्तरिक व्यवस्थापन गर्न नसक्दा सत्ताबाट बाहिरिँदै गएको छ । राजनीति सत्ताकै लागि हो । सत्तामा पुगेर जनताको सेवा गर्ने उद्देश्यबाट राजनीति गर्ने हो । तर सत्तामा पुगेपछि अन्तरपार्टी व्यवस्थापन नेपाली राजनीतिको ठूलो चुनौती र समस्या बन्दै आएको छ । त्यसकै शिकार एमाले बनेको हो । अष्टलक्ष्मी शाक्यको सरकारले पूर्णता नपाउँदै अल्पमतमा परेपछि एकीकृत समाजवादी र नेपाली कांग्रेसले मुख्यमन्त्रीको दावी गर्ने भएका छन् । प्रदेश नं. १ र बागमतीमा यी दुई दलले भाग लगाउने नै छन् । त्यसो हुँदा बागमतीको मुख्यमन्त्री को हो भन्ने चासो बढेको छ ।