गत वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा अझै अनिश्चित छ । देशका सम्पूर्ण पक्ष खुला भइसकेका छन्, तर शैक्षिक क्षेत्र अझै कोरोनाबाट त्रसित छ । राज्यका सबै निकाय अन्तर्गत्का गतिविधि सुरु भएका छन् । तर शिक्षा मन्त्रालय अन्तर्गत्का सबै गतिविधि प्रभावित भइरहेका छन् । शिक्षा क्षेत्रमा मात्र कोरोना हुने हो वा यो क्षेत्रमा संलग्न हुने समुदाय वा वर्गले कोरोनालाई साथै लिएर हिँड्छन् ? विद्यार्थी वर्गको प्रश्न छ । विद्यालय तहको पढाइ बन्द नै छ भने तोकिएका परीक्षासमेत सञ्चालन गर्ने तत्परता सरकारले देखाएको छैन । लोकसेवाका सबै प्रकारका परीक्षा भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयतर्फका परीक्षाहरु पनि स्थगित भएका छैनन् । तर कक्षा १२ परीक्षा किन सञ्चालन गर्न नसिकएको हो ? भन्ने प्रश्न आम विद्यार्थीले गर्न थालेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले अझै कक्षा १२ को परीक्षाबारे निर्णय लिन सकेको छैन । सरकारको निर्णय पर्खिरहेको बोर्डले विद्यार्थीहरुको भविष्यप्रति गम्भीर बन्नुपर्ने थियो । विद्यार्थीको भविष्य जोडिएको परीक्षा किन नगराएको हो ? कोरोना संक्रमण हुने नै हो भने अन्य तहका परीक्षा कसरी सञ्चालन भएका छन् । यस्तै राजनीतिक दलका सबै कार्यक्रमहरु सहजरुपमा खुल्लमखुला भइरहेका छन् । बजार पूर्णरुपमा खुलेको छ । यातायातका साधनहरु सञ्चालन भइरहेका छन् । तर विद्यार्थीको परीक्षामात्र किन रोकिनुपर्‍यो ? छिटो निर्णय गर्न सरकारलाई परीक्षा बोर्डले दबाव दिनुपर्ने देखिन्छ । वैशाखमा स्थगित भएको परीक्षा साउनमा गर्ने तयारी थियो, तर पनि अहिलेसम्म स्थगित नै छ ।

कोरोनासँग खेलाँची गर्ने विषय होइन । तर कति दिन भाग्दै रहने भन्ने प्रश्न पनि छ । त्यसैले कोरोनाबाट जोगिँदै आफ्ना गतिविधि सञ्चालन गर्नुको विकल्प छैन । यो महामारी कहिलेसम्म भन्ने कुनै टुंगो छैन । कोरोनासँग डराएर जीवन सधैं बन्द गराइराख्ने भन्दा सँगसँगै जिउने कलाको विकास गरिनुपर्दछ । यसका लागि विश्व बजारमा यतिबेला कोरोनाविरुद्धको खोप विकास भई ठूलो जनसंख्याले लगाइसकेको छ । नेपालमा पनि उमेर समूहका आधारमा जेष्ठ नागरिहरुलाई खोप लगाउने कार्य भइरहेको छ । तर पछिल्लो समय परीक्षा दिने विद्यार्थीहरुलाई पनि खोप लगाउने प्रबन्ध राज्यले गरेको छ । त्यसैले अब परीक्षा रोकिराख्ने भन्दा खोपको प्रबन्धसहित परीक्षा सञ्चालन गराउनु जरुरी छ ।

परीक्षा दिने उमेरका विद्यार्थीहरुलाई सरकारले दशैंअघि खोप लगाइसक्ने दावी गरेको छ । प्रवेशपत्रका आधारमा सहजै खोप लगाउन पाइने भनिए पनि जिल्ला–जिल्लामा त्यस्तो प्रबन्ध गरिएको छैन । काठमाडौं उपत्याकामा विद्यार्थीहरुका लागि खोपकेन्द्र नै तोकिदिएको छ । उपत्यका बाहिर पनि प्रत्येक जिल्लामा विद्यार्थीका लागि खोप केन्द्रको व्यवस्था गरेर खोप लगाई परीक्षा छिटो सञ्चालन गर्ने वातावरण बनाउनु पर्दछ । विद्यार्थीको शैक्षिक बर्षमा ठूलो नोक्सानी नपुगोस् भन्नेतर्फ विशेष ध्यान दिन आवश्यक छ । तर १८ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउन मिल्ने भएकाले केही समस्या हुनसक्छ । तोकिएको भन्दा कम उमेरका पनि परीक्षार्थी हुनसक्छन् । उनीहरुलाई पनि स्वास्थ्य मापदण्डभित्र रहने गरी परीक्षा सञ्चालन गर्नु नै अहिलेको आवश्यकता हो ।