हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् युवा वैज्ञानिक प्रोत्साहन कोषमार्फत् ५ परियोजनाहरु सञ्चालनमा रहेका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको परियोजना समीक्षा कार्यक्रममा कोषले ५ वटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेर सञ्चालन गरिएको जनाइएको छ ।
कोषले उक्त परियोजनाहरुका लागि बजेट बिनियोजन गरी केही रकमसमेत निकासा गरिसकेको छ । सञ्चालनमा रहेका ५ परियोजनाका लागि पेश भएको प्रस्तावका आधारमा कुल २ करोड १० लाख २८ हजार ५ सय ३० रुपैयाँ बजेट विनियोजन भएको युवा वैज्ञानिक प्रोत्साहन कोषले जनाएको छ । जसमा सबैभन्दा बढी माछा पालनसम्बन्धी परियोजनाका लागि ७० लाख ५४ हजार ८ सय ५ रुपैयाँ निश्चित गरिएको छ भने जडीबुटीसम्बन्धी परियोजनाका लागि ६९ लाख ६७ हजार ५ सय ६९ रुपैयाँ बजेट रहेको छ । यसैगरी रातो च्याउ खेती परियोजनालाई ३४ लाख ९४ हजार ३ सय १ रुपैयाँ, विद्युतीय सवारी निर्माण परियोजनाका लागि १९ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ र नक्कली दाँत निर्माण परियोजनाका लागि १५ लाख २२ हजार १ सय १० रुपैयाँ बजेट निर्धारण भएको छ ।
यी ५ परियोजनामा अनुसन्धानको काम अगाडि बढिरहेको छ भने यसका लागि कुल ८७ लाख २० हजार ८ सय ३३ रुपैयाँ बजेट पनि निकासा भइसकेको जनाइएको छ । बिहीबार यी परियोजनाहरुका विषयमा प्रस्तुतिकरण समेत भएको थियो । प्रस्तुतिकरणको क्रममा विद्युतीय सवारी परियोजनाका विषयमा उक्त टिमका बसन्त आलेले चितवन राष्ट्रिय निकुञ्जभित्र पुरानो भएर विस्थापन गरिएको डिजेल तथा पेट्रोलका सवारी साधनलाई विद्युतीय इन्जिनमा परिमार्जन गर्ने काम भइरहेको बताउनुभयो । डिजेल पेट्रोलका पुराना सवारीजस्तै सफारी गाडीले धेरै धुँवा र आवाज फैलाउने भएकाले त्यस्ता सवारीलाई बाहिरको ढाँचालाई परिवर्तन नगरी त्यति नै क्षमताको विद्युतीय सवारी बनाई वातावरण र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
यसैगरी प्रवेश पोखेरलले आफ्नो टिमको तर्फबाट रातो च्याउ परियोजनाका बारेमा प्रस्तुतिकरण गरेका थिए । समुद्री सतहबाट १ हजार ७ सय मिटरभन्दा माथिको पहाडी क्षेत्रमा पाइने रातो च्याउ स्वास्थ्यका लागि एकदमै फाइदाजनक र यसको मूल्य पनि धेरै पर्ने भएकाले यसलाई व्यावसायिकरुपमा उत्पादन गर्न यसको बिउ उत्पादन गर्ने तथा अन्य स्थानको तापक्रममा पनि उत्पादन हुनेगरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । माछापालन परियोजनाअन्तर्गत् रोजिना थापाले प्रस्तुतिकरण गर्दै थोरै स्थान र एक पटकको पानीमा थोरै दानाको प्रयोगबाट धेरै माछा उत्पादन गर्नका लागि विदेशबाट महंगो मूल्यमा आयात हुने व्याक्टेरियालाई देशमै उत्पादन गर्ने विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । प्रतिलिटर १० हजार रुपैयाँसम्म पर्ने उक्त व्याक्टेरिया हामीले नै उत्पादन गर्नसके माछापालक किसानले सुपथ मूल्यमा प्राप्त गर्ने र देशको पैसा विदेश नजाने उहाँको भनाई छ ।
यस्तै, दन्तरोग चिकित्सक पराक्रम पराजुली र उनको टिमले नक्कली दाँतको विषयमा नयाँ खोज गरिरहेको बताइएको छ । नक्कली दाँत हाल्न परेमा संसारभर नै २ वटा बिधिमात्र रहेको बताउँदै चिकित्सक पराजुलीले आफ्नो टिमले तेस्रो बिधिको अनुसन्धान गरिरहेको बताउनुभयो । हाल भएको २ बिधिमा एउटा कमजोर र अर्को धेरै समय लाग्ने भएकाले आफूहरुले गरिरहेको अनुसन्धान सफल भएमा समय बचत र मजबुत हुने भएकाले यो बिधि संसारभर नै उपयुक्त हुने उहाँले दावी गर्नुभयो । यसबाट नक्कली दाँत राख्ने नयाँ प्रविधि देशले तयार गरी संसारभर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्न सकिने पराजुलीले जानकारी दिनुभयो ।
अन्तिम परियोजनाको रुपमा जडीबुटीहरुको विषयमा जानकारी दिँदै उक्त परियोजना टिमका भुवन गुरुङले बागमती प्रदेशमा १ हजार ८ सयभन्दा बढी जडीबुटी भएको र टिमले सम्पूर्णको केमिकल प्रक्रियाको विषयमा अध्ययन गरिरहेको बताउनुभयो । अध्ययनपछि हाल नेपाली समाजमा रहेको आयुर्वेदिक र एलोपेथिक पद्धतिबीचको दुरी घट्ने, कुन रोगका लागि कुन जडीबुटीले काम गर्ने र यसका लागि कति केमिकल भएको जडीबुटी प्रयोग गर्ने भन्ने विषयमा जानकारी मिल्ने हुँदा जडीबुटीबाट हुने उपचार पद्धतिमा वृद्धि हुनुका साथै एलोपेथिकमा हुने खर्च घट्ने उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारको युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रमअन्तर्गत् पर्न आएको १ सय २ वटा प्रस्तावहरुमा उत्कृष्ट लागेका ५ प्रस्तावलाई छनोट गरिएको युवा वैज्ञानिक प्रोत्साहन कोषका विज्ञ सदस्य गिरीराज त्रिपाठीले जानकारी दिनुभयो । छनोट भएका ५ प्रस्ताव आ–आफ्ना क्षेत्रमा उत्कृष्ट भएको पनि उहाँले बताउनुभयो । उहाँले युवा वैज्ञानिक प्रोत्साहन कोषको परिचयका साथै यसका कामका प्रक्रियाहरुको बारेमा पनि जानकारी प्रदान गर्नुभएको थियो ।
प्रदेशमा नयाँनयाँ खोज गर्ने वैज्ञानिकहरु भएता पनि सरकारले उनीहरुलाई बेवास्ता गरेको, संरक्षण नगर्दा पलायन भएको भन्दै बारम्बार कुराहरु उठ्ने गरेका कारण ती वैज्ञानिकहरुलाई अवसर प्रदान गर्न यस किसिमको कार्यक्रम ल्याइएको कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । छनोट परियोजनामा प्रदेश सरकारले लगानी गरिरहँदा परियोजनाबाट सरकार तथा सर्वसाधारणले के पाउने भन्ने विषयमा प्रष्ट हुन उहाँले सुझाव दिनुभएको छ ।
परियोजनाको विषयमा प्रस्तुतिकरण गरिरहँदा सहभागीहरुले राम्रोसँग विषय प्रष्ट नपारेको भन्दै मुख्यमन्त्री पौडेलले पहिला आफूले के विषयमा काम गर्न खोजेको हो र त्यसबाट के नतिजा निकाल्न खोजिएको हो ? त्यो विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो । परियोजनाको समाप्तिपछि एउटा व्यक्तिले व्यवसाय गर्न नभई देशबासीले नै केही नयाँ पाउनुपर्ने उहाँले बताउनुभयो । कसैले केही लगानी गरेपछि त्यसको प्रतिफल पाउनु आवश्यक भएकाले सरकारले परियोजनामा गरेको लगानीले राम्रो उपलब्धी दिने नतिजा आउनु जरुरी रहनेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो ।
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी, प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. यमुना कँडेल, प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, विज्ञ सदस्य निलम सुवेदी, प्रशासन महाशाखा प्रमुख रुद्रहरि भण्डारी, युवा तथा खेलकुद महाशाखा प्रमुख गोपालप्रसाद कँडेललगायतको आतिथ्यता रहेको थियो ।