विश्वव्यापी महामारी कोरोनाबाट दुई बर्षदेखि प्रताडित नेपाली समाजमा त्यसविरुद्धको सचेतना अझै खाँचो देखिएको छ । ग्रामीण क्षेत्रमा सचेतना अभियान आवश्यक स्वभाविक हो । तर शहरबजारमै होशियारी अपनाउन अभिायन सञ्चालन गर्नुपर्ने अवस्था स्वभाविक हुन सक्दैन । तर पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रहमा हेटौंडा बजारमा मास्क वितरण अभियान सञ्चालन भयो । अझै केही दिन सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । तर यो अभियान सोचेजस्तो प्रभावकारी हुन सकेको छैन । बजारमा एक दर्जन बढी स्थानमा गरिएको अभियानमा केही ठाउँमा मात्र सकारात्मक प्रभाव परेको छ । स्वयम्सेवी संस्थाहरुको सहकार्यमा मास्क अभियान सञ्चालन भएको हो ।

हेटौंडाका क्रियाशील विभिन्न संघसंस्थाहरुले हेटौंडा बजारका विभिन्न स्थानमा छुट्टाछुट्टै हेल्पडेस्क स्थापना गरी मास्क वितरण तथा जनचेतना फैलाउने कार्य गरेका थिए । तर हेटौंडाको बसपार्क, सीमाचोक, बुद्धचोक र रक्तसञ्चार केन्द्र अगाडिबाहेक अन्य स्थानमा राखिएको हेल्पडेस्कमा खासै मास्क वितरणको प्रभाव देखिएन । अन्य स्थानहरुमा रहेका हेल्पडेस्कमा स्वयम्सेवकहरुको नै उपस्थिति जाँगरिलो देखिएन । फुर्सद भएको समयमा सेवा दिने नत्र आफ्नो काममा जाने गर्दा अभियानको उद्देश्य पूरा हुन नसकेको प्रष्ट हुन्छ । हुन त सेवाभावले गरिएको काममा एउटै व्यक्तिले दिनभरी सेवा दिन सक्दैन । तर प्रदायक संस्थाहरुले स्वयम्सेवकहरु आलोपालो परिचालन गर्नु आवश्यक हुन्छ । कतिपय स्थानमा प्रशासनले अनुरोध गरेकाले टार्न नसेकाले मात्र सेवामा संलग्न भएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मास्क अभियान सञ्चालन गर्न अनुरोध गरेको थियो । तर अभियानमा खटिएका अधिकांश हेल्पडेस्क ४ नबज्दै खाली हुने गरेका थिए । स्वयम्सेवा गरेको प्रचारप्रसार गराउन उत्साही हुने संस्थाहरुले सेवा पनि त्यहीअनुसार दिनु आवश्यक हुन्छ । फोटो खिचेर सामाजिक सञ्चालनमा राख्नका लागि मात्र स्वयम्सेवामा लाग्ने धेरै व्यक्ति तथा संस्थाहरु छन् । मास्क अभियानमा पनि केही संस्था र व्यक्तिहरु त्यही प्रकृतिका त हैनन् भन्ने प्रश्न उठ्नेगरी सेवा दिइएको अवस्था छ । प्रचार आवश्यक हुन्छ, तर सस्तो प्रचार गर्ने परिपाटीको विकास हुँदै गएको अवस्थामा संस्थाहरुले दिनभरी सेवा दिने व्यवस्थापन गर्न नसकेको हो वा नचाहेको हो ?

अभियान सफल हुन अभियानकर्ताको सक्रियताका अतिरिक्त सेवा लिनेको चेतनामा पनि निर्भर हुने गर्दछ । सेवा लिनेहरुले अभियानको महत्वलाई बुझ्न आवश्यक छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बसोबास वा कारोबार वा काम गर्नेहरु नै लापरवाही गर्दछन् भने ग्रामीण क्षेत्रका नागरिकको चेतनाले कोरोनालाई पराजित गर्न कति जिम्मेवार बन्न सक्छन् ? कोरोनाबाट बच्नका लागि भन्दै हेटौंडा बजारमै हेल्पडेक्स राखेर सेवा दिनुपर्ने अवस्थाले हाम्रो स्वास्थ्य चेतनाको अवस्थालाई संकेत गर्दछ । यसरी प्रदान गरिएको सेवाबाट लाभ लिनसमेत नागरिकहरु अनिच्छुक छन् । सेवा लिन संकोच मान्नेहरु आफैंले स्वास्थ्य मापदण्ड पालना गरे मात्र पनि जोखिम कम हुनेथियो । त्यस्तो पनि देखिँदैन । तसर्थ कोरोनाविरुद्धको जस्तोसुकै अभियान सञ्चालन गरे पनि त्यसलाई प्रभावकारी कसरी बनाउने भन्ने पक्षबाट सोच्नुपर्ने अवस्था छ ।