भीमफेदीः मकवानपुरको भीमफेदी गाउँपालिका–६, भीमफेदी बजारस्थित ऐतिहासिक ज्योति पुस्तकालय पुनः सञ्चालनमा आएको छ । २०१० सालमा स्थापना भएको पुस्तकालय २०५० सालको भारी बर्षामा परी क्षति भएपछि बन्द भएको थियो । शनिबार पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेसँगै पुस्तकालय सुचारु भएको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुस्तकालयको उद्घाटन गर्नुभयो । पुस्तकालय उद्घाटन गर्नुहुँदै अध्यक्ष लामाले पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पठन संस्कृतिको विकास गर्न पुस्तकालय महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै समुदायको सक्रियतामा सञ्चालन तथा व्यवस्थापन हुने अवस्थामा पालिकाले भौतिक, आर्थिक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले पुस्तकालय अभियानको सराहना गर्नुहुँदै अभियानलाई आफूले पनि सहयोग गर्ने बताउनुभयो । अध्ययन जरुरी रहेको र पैसा भन्दा शिक्षा ठूलो हो भन्ने स्थापित गर्न पनि पुस्तकालय जरुरी रहेको उपाध्यक्ष रानाले बताउनुभयो ।
भीमफेदी गाउँपालिकाको ६ नम्बर वडा अध्यक्ष सिताराम थापाले पुस्तकालयमा रहेर आधुनिक सूचना प्रविधिको प्रयोग गर्ने गरी कम्प्युटर खरिद गरिसकेको जानकारी दिनुभयो । उहाँले पुस्तकालयलाई व्यवस्थित गरेर सञ्चालन तथा व्यवस्थापन गर्न वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो । भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले पठन संस्कृतिको आवश्यकतालाई बुझेर पालिकाले पुस्तकालयका लागि बजेट विनियोजन गरेर आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा सेवानिवृत्त शिक्षक देवप्रसाद श्रेष्ठले विगतमा काठमाडौं उपत्यकापछिको प्रमुख सहर, काठमाडौं प्रवेश गर्ने सहरको रुपमा सामरिक महत्वको भुगोल भीमफेदीको ऐतिहासिक सन्दर्भबारे जानकारी गराउनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी भीमफेदी शाखाका सभापति सानु थापाले समुदायको सहभागितामा पुस्तकालयलाई व्यवस्थित गर्ने बताउनुभयो । ज्योति पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र राज थिकेले भीमफेदीको ज्योति पुस्तकालय ऐतिहासिक भएको र पुस्तकालय बन्द हुनुमा व्यवस्थापकीय पक्ष भन्दा पनि २०५० सालको दैवी प्रकोपको रुपमा बर्षाको प्रभाव रहेको स्पष्ट पार्नुभयो । उहाँले पुस्तकालय पुनःसञ्चालनमा पुस्तकालय अभियान समूह मकवानपुरको महत्वपूर्ण सहयोग भएको उल्लेख गर्नुहुँदै व्यवस्थित रुपमा पुस्तकालय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ज्योति पुस्तकालयलाई पुस्तक हस्तान्तरण पछि पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य समेत रहनुभएका सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले पुस्तकालय अभियान समूहले चौथो पुस्तकालयको रुपमा ऐतिहासिक पुस्तकालयलाई पुनःसञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नागरिकलाई सचेत गराउन पुस्तकालय उपयोगी हुने अपेक्षासहित जिल्लाका सवै पालिकास्तरमा पुस्तकालय स्थापनापछि वडा वडा र टोल टोलमा पुस्तकालय स्थापना गरिने श्रेष्ठले बताउनुभयो ।
पुस्तकालय अभियान समूहले चौथो पुस्तकालयको रुपमा भीमफेदीको ज्योति पुस्तकालयका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्न सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठ, सचिव चुँडाराज उप्रेती, कोषाध्यक्ष नवीन जोशी, सल्लाहकार अनल श्रेष्ठ, सदस्यहरु रुपकराज दाहाल, सुरज कार्की, श्याम ढकाल, दुर्गा लामा, जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुर (शिक्षा) का प्रमुख बद्रिबहादुर पाठक र नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नबराज खनालले जनही ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । ज्योति पुस्तकालयका लागि पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको १ सय ७७ थान पुस्तक हस्तान्तरण गरिएको छ ।
यसअघि पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा हेटौंडा–७ नागस्वतीमा समृद्ध पुस्तकालय, हेटौंडा–६ मा शान्ति पुस्तकालय र बकैया गाउँपालिका–४ मा बकैया सार्वजनिक पुस्तकालय स्थापना भइसकेको छ । पुस्तकालय अभियान समूहले जिल्लाका सवै पालिकाका पुस्तकालय स्थापना गर्ने क्रममा यही साउन ९ गते शनिबार मनहरी गाउँपालिकामा र साउन १६ गते मकवानपुरगढी गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने कार्यक्रम रहेको अभियानका सदस्य नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।