बकैया सार्वजनिक पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ स्थित बकैया सार्वजनिक पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा सुस्मिता घोरसाइनी चयन हुनुभएको छ । शनिबार भएको भेलाले घोरसाइनीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

भेलाले पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिको उपाध्यक्षमा रामचन्द्र खड्का, सचिवमा हरिप्रसाद दाहाल र कोषाध्यक्षमा अमोद बस्नेत चयन भएका छन् । यस्तै सदस्यमा दीपक गौतम, गोविन्द चौलागाई, प्रकाश बस्नेत, रञ्जु चौलागाई, सुशील घिमिरे, रमेश फुयाँल र विजय लाल स्याङ्तान चयन भएका छन् ।

बकैया गाउँपालिका ४ नम्बर वडा अध्यक्ष राजन दंगालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा वडाका सरोकारवालाको उपस्थितिमा भेलाको आयोजना गरिएको हो । पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा गत साता मात्रै बकैया सार्वजनितक पुस्तकालयको उद्घाटन गरिएको थियो ।

पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्न आयोजित भेलामा गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षले पुस्तकालयका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको सदस्य गोविन्द चौलागाईले जानकारी दिनुभएको छ ।