कोरोना त हो नि भनेर तनाव सुन्न नचाहनेले हेल्थ पोस्टु पढे होला यो शीर्षकलाई । कि फेरी दोहोर्याएर हेर्नु भयो ? ज-जसले इग्नोरे, एउटा महान स्वघोषित विद्वानको प्रवचन पढ्नबाट छुटे । बर्मा गए कर्मसँगै भनेझैँ पछि चित्रगुप्तकोमैँ भेटौँला । नाङ्गेझार पारेर यम सेनाले खानतलासी गरेपछि उतै पुगेर जिस्काउँला सेम पप्पी सेम । त्यतिखेर तिनीहरू गेटमा बसेर टिकटकमा नाचिरहेका हुनेछन् । म तिनको स्क्रिप्ट राइटर भएर गेट पास लिँदै चित्रगुप्तको गुप्तबाससम्म युट्युबर भएर छिर्नेछु।।।
अँ साँच्ची, कुरा शीर्षकतिरै लैजाउँ ।
भ्याइनभ्याई छ आजकाल फेसबुकमा । एउटै साथीको चार दिशाबाट रिक्वेस्ट आयो । बिहेपछि अकाउन्ट नयाँ बनाउने बेहुलीको रिक्वेस्ट नयाँ अकाउन्टबाटै आउन थाल्यो । घर नयाँ, बेहुलो नयाँ, जीवनको भोगाई नयाँ । फेसबुक पनि किन नयाँ चाहिएको हो, म्यासेज, भिडियो कल, ट्याग थाहा पाउला भनेर हो कि उनै जानून् ।
हामीलाई फसाद छ । फेसबुके जुकेको देशमा बाउछोरा साथी हुन्छ । हाम्रोमा बाउ जहिल्यै माथि हुन्छन् । छोराले हातभन्दा पहिला लात्ति खान्छ । चप्पल बलियो, बरू कमजोर हात्ती हुन्छ । यस्तो अवस्थामा फेसबुकले बाउ त के, हजुरबा-नाती पनि साथी हुने नियम के जाति बनाइदियो । रिक्वेस्ट पनि नातिको भन्दा हजुरबाकैँ ताँती हुन्छ । हजुरआमा निदाएपछि म्यासेज रिप्लाई राति हुन्छ, कोहीसँग म्यासेज मात्रै, कोही पेन्डिङु मा थाति हुन्छ । कोही पात्तेकाहरूको लाइक पेजमा नानाभाँती हुन्छ । यौवनको ब्यालेन्स सकिँदै जाँदा के भाको हजुरबा ? चुपलाग् मोरा तिमेरका पो दिन, हाम्लाई त दिउँसै राती हुन्छ । जय जिन्दगानी, कुराले पानी पानी ।
फेसबुकमा साथीको साथी भएँ भने भाउजुको नि रिक्वेस्ट आउँछ । भतिज जन्मेको ६ महिनामा भात खुवाउनुअघि तिनको पनि रिक्वेस्ट आउँछ । स्टाटसमा म आजबाट छ महिना पुगेँ । देखिन्छ । दाँत नउम्रिँदै बोल्दैन भन्थे, लेख्न त जान्दोरछ । उ पनि अर्कैलाई ट्याग हान्दोरछ ।
विद्यार्थीको बाआमा, दाइदिदी रिक्वेस्ट झनै नआउने कुरै भएन । तिनका छिमेकीको पनि आइराछ । मनले भन्छ आ लाइराछ । दिमागले भन्छ, व्यालेन्स खाइराछ । खास के भने राम्री फोटोको प्रोफाइलबाट पैसा माग्ने, म कार्ड कोतरेर नम्बर पठाइरहने । केटी त केटो रैछ । मभन्दा जेठो रैछ । छोरी भनेको बाउ रैछ । खोपाको स्याउ, चर्पीको हाउ भैछ ।
पण्डितजीसम्म त ठीकै, नभ्याउँदा नाग टाँस्न आउने तर मन्त्रोच्चारण गर्न नआउने गुरूआमा पनि फेसबुक चलाउँछिन् । रिक्वेस्ट नआउने कुरै भएन । तिनका नातीनातिनासम्मको रिक्वेस्ट पेन्डिङ छ । आज यही विषय ट्रेन्डिङ छ ।
एकजना सहकर्मीको घरको नयाँ कुकुर (हाम्रो कुक्कुर उहाँको फलानो बाबुु) पनि फेसबुक चलाउने भएछ । रिक्वेस्ट पो स्विकारूँ कि नस्विकारूँ ? कुकुर भनेर के गर्नु, चर्पी नगई हग्दैन, गेटबाट एक पाइलो डग्दैन । मालिकलाई कहिल्यै ठग्दैन । मष्ठमा तुर्क्याउँछ, बग्दैन ।
भुपुसँग झगडा गरी स्टाटस पेल्यो । हलुवामा बालुवा कसले रेल्यो ? सालीको कमेन्टले प्रमाण बोल्यो । सालोले दिदी फिर्ताको अध्यादेश ठेल्यो । सालीको आशमा भिनाजुको बनिबास भयो । हुनु नहुनु भयो । हर्रो नपाउनेलाई जाइफल । गुलेली चलाउँदा तर्सनेलाई राइफल । फेसबुक मैयाँ घाइते दिलमा छुरा चलाइस्यो । एक कान दुई कान टिकटकभरी कुरा चलाइस्यो । कोही त होला म जस्तै अनुभवी । ट्वीटेर नबस, स्टाटस लाइकेर नथच्च, आफू पनि बच, छोराछोरी बिग्रेलान्, चुकुल लाएर टिकटकमा ठीकठाक नपर । मुला खाएर क्लबहाउसमा नपाद, सब्सक्राइब बढाउ भन्दै युट्युब लाइभमा नछाद । पोलेर घर स्टाटसमा खरानी नछर । लौ न के भयो यो ? अन्टसन्ट लेख्दालेख्दै म ध्यान मग्न हुन लागेँ । म सुध्रिन लागेँ । बचाऊ बचाऊ । सामाजिक सञ्जालमा असामाजिक बनाएर बचाऊ ।
हेल्प पोस्ट ।