वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१.शिक्षामा प्रविधिको चर्चा अत्यधिक सुनिन्छ । स्वभाविक पनि हो । हालको अवस्था कोभिड—१९ को कारणले अत्यन्त विषम छ । स्थिति असहज भएकै हो । कोरोनाको पहिलो लहरको प्रकोपको तुलनामा यस वर्षको दोश्रो वेभबाट थोरै अवधिमा धेरै ब्यक्तिको ज्यान गएको छ । अन्य क्षेत्र संगै शिक्षा ज्यादा अस्तब्यस्त भएकै हो । पुर्व प्राथमिक तह देखि विश्वविद्यालय स्तर सम्मकै पढाई यो अवधिमा लथालि¨ बनेकै हो । अनलाईन कक्षाको प्रसंगको उठान जस्तो काम हुन सकेन । उच्च शिक्षामा अलि राम्रो हुने अपेक्षा पनि ब्यवहारमा देखिएन । आधारभूत तहमा त झनै प्रभावकारी बन्न सकेको छैन । केहि निजि संस्थाको अवस्था बाहेक अधिकांश शिक्षण संस्थाको अनलाईन शिक्षामा आधा पनि विद्यार्थी जोडिन नसकेको तथ्यमा शंका छैन ।

२.बजारमा मोबाईल फोन (सेल फोन)को बिक्रि बढेको छ । केहि ब्यवसायीको नाफा अनपेक्षित भएको छ । अभिभावकहरु आफ्ना वालवालिकाको पढाई प्रति अत्यन्त चिन्तित देखिन्छन् । पढाईकै लागि भनेर अत्यावश्यक खर्च कटाएर वा ऋण खोजेर भएपनि मोबाईल फोन किनेको धेरैको भनाई छ । यहिबेला ईन्टरनेट सेवा खरिदगर्नेहरुको संख्या पनि धेरै बढेको छ । अनलाईन कक्षाको लागि विद्यार्थीहरु बढि उत्सुक देखिएका छन् । हाम्रो सन्दर्भमा जुम तथा गुगल मिटका कक्षाहरु बढि लोकप्रिय बनेका छन् । आधुनिक प्रविधिको प्रयोगमा आकर्षण हुनु स्वभाविक हो । शिक्षक प्राध्यापक मात्र हैन अभिभावकहरु पनि अनलाईन कक्षा मुखमै झुण्डिएको शब्द झैं प्रयोग गरिरहेको सुन्न सकिन्छ ।

३.स्कूल कलेजका कुरामा अनलाईन कक्षा । शिक्षक प्राध्यापकको भेटमा अनलाईन कक्षाकै कुरो । विद्यार्थी एकापसमा भेट्ने बित्तिकैको कुराकानीको प्रारम्भ गरिने शब्द अनलाईन कक्षा । अभिभावकवर्गमा पनि पढाईको प्रसंगमा अनलाईन कक्षा । शिक्षा प्रशासकहरुको विषय पनि अनलाईन कक्षा । कोरोनाको कारणले निषेधाज्ञाको हरेक सूचनामा शिक्षण संस्थाहरु बन्द गरेर अनलाईन कक्षा संचालन । घर घरमा अनलाईन शिक्षा । गाउँ शहरमा अनलाईन शिक्षा । सरकारी गैरसरकारी कार्यालयको एजेण्डामा अनलाईन शिक्षा । राजनीतिक अनलाईन शिक्षा । कोरोना महामारीको बाध्यता वा उपलब्धि अनलाईन शिक्षा । संघिय सरकारको नितिमा मात्र हैन प्रदेश र स्थानिय सरकारको नितिमा पनि अनलाईन शिक्षा ।

४.लाईन जानाले मैले त ज्वाईन नै गर्न पाईन । कक्षा शुरु मात्र भएको थियो , झ्रवाट्ट बत्ति गयो । मेरो त नेट नै ज्यादै स्लो , खाली आउने जाने मात्र गर्छ । यो प्याकेज भन्नेले पनि दिक्क बनायो । मैले त अनलाईनमा पटक्कै बुझिन । सोध्न खोज्यो , सर पछि सोध्नु अहिले टाईम सकिन लाग्यो भन्नुहुन्छ । जम्मा ४० मिनेटमा ज्वाईन गर्दागर्दै १० मिनेट जान्छ । एउटाको जवाफ दिंदादिदैं अर्को १० मिनेट बित्छ । नबुझेको सोध्ने चान्स नै छैन । यो वान वे नै हो, चुपचाप सुन । ड्याडि ममीको मोबाईल वहाँहरुलाई नै चाहिन्छ, एउटा मोबाईल छ, मैले पढने कि भाइले, कक्षा एकैपटक हुन्छ । नेटको धोकाले रिसै उठायो । सरको नेट पनि भरपर्दो रहेन छ । बिचैमा डिस कनेक्सन अनि त्यो दिन रि कनेक्सनको चान्सै छैन । मेरो मोबाईलमा त चार्ज पनि नटिक्ने । एक घण्टा लगातार कक्षा हुने हो भने तातेर बिस्फोट हुने डर । भिडियो अन गर्न त फर्मल क्लास हैननी । घरमा आफ्नै ब्यक्तिगत जिवनशैली हुन्छ भन्ने थाहा छैन र ? कस्तो ड्रेसमा को छ अनि घरको कोठाको अवस्था कस्तो छ भनेर हेर्ने कि विषयवस्तु खुरुखुरु पढाउने ? हाम्रा शिक्षकहरु पनि आफ्नै तालका । साथीहरु संग कुरा गर्ने त चान्सै नपाउने । यी र यस्तै भनाईहरु हुन– आजकालका विद्यार्थीको कुरा ।

५.अनलाईन कक्षाको कुरा छ ,मलाई राम्रो टिक्ने मोबाईल चाहियो भन्छ छोरो । मेरो कक्षाको बेला भो, हल्ला गर्ने हैननी भन्छे छोरी । मलाई नयाँ अर्कै मोबाईल चाहियो, दिदिले मोबाईलै दिन्न भनेर कान्छोले हिजो देखि भात खाएको छैन । ऋण पनि पत्याउनै छाडे । सहकारीमा पनि तिर्न मात्रै बाँकी छ । खोरको एउटा खसी बेचेर भएपनि एउटा मोबाईल त किनिदिनै पर्यो । बिहानै देखि छोराछोरी मोबाईलमा झुण्डिरहेका छन्, पढेका हो कि के गरेका हुन् । कुरा गरेको जस्तो पनि सुनिन्छ, पढेकै होलान्, आफू बुझ्ने हैन । चार्ज भएन , पढन पाईएन मात्र भनिरहन्छन् । कहिले नेट सकिएछ भन्छन् । यो कोरोनाले पनि हैरानै बनायो । केटाकेटी त राम्रैसंग बिग्रने भए । स्कूल कलेज बन्द हुँदा त छोराछोरी खाली मोबाईल खेलेर बस्छन् । न घरको अरु कुनै काम गर्छन् न त पढाई नै राम्रो छ , हामी दिक्क भईसक्यौं । उता स्कूल कलेज नगए पनि पैसा भने तिर्नु परेकै छ । माष्टरको पो घरमै बसेर तलब पाकेकै छ । यो कोरोना भन्ने बुझ्नै सकिएन । यी र यस्तै प्रतिनिधि भनाई सुन्न सकिन्छ, हाम्रा अभिभावकका ।

६. शिक्षक प्राध्यापकका गुनासा अझ गम्भिर र गहिरा छन् । अनलाईन पढाउनु भनेको छ । आफ्नो ल्यापटपले कामै दिन छाड्यो । मोबाईल पनि थोत्रो । नयाँ किनौं पैसा छैन । स्कूल कलेजले किनिदिनु पथ्र्यो । सरकार पनि गैरजिम्मेवार । कतिपय स्थानिय सरकारले ल्यापटप बाँडेको समाचार सुन्दा पनि मिल्ने भए जागिर सारेर त्यतै जानपाए हुन्थ्यो जस्तो लाग्छ । उता नेटको तनाब अर्कै छ । पैसा तिरेर पनि भने जस्तो नहुँदा त ज्यादा रिसै उठ्ने । बल्ल कक्षा शुरु गर्यो विद्यार्थीले गफै गरेर पढाउनै नदिने । कोर्स बढाउन खोज्यो पालैपालो सोधेर हैरान बनाउँछन् । भिडियो अन गर , बुक कपि पल्टाएर देखाउ भन्दा अनेकौं बहाना बनाएर टार्छन् । अडियो अन गरेको हुन्छ, बोलायो जवाफ कोहि दिंदैन । म ट्वाईलेटमा थिएँ सर भनेर छल्ने धेरै छन् । आजकाल त आफू फुटबल हेरेर सुत्दा निद्रा नै पुगेको हुँदैन । उता विद्यार्थी पनि उस्तै रातभरको निद्राले हाई गरिरहेका हुन्छन् । के पढाउने खै , एक प्रकारको जात्रा जस्तै पो छ त । न होमवर्क गर्छन, न त कुनै प्रोजेक्ट टास्क नै । नेटमा खोजेर गर भन्यो पटक्कै टेर्दैनन् । स्कूल कलेज जान नपरेर के गर्नु, घर नै जेल जस्तो भै सक्यो । अझै कोरोनाको त्रासले सातो उडेको छ । संगैका केहि साथीहरु कोरोनाका कारण ज्यान गुमाउन बाध्य बनेको समाचारले सिरि¨ बनाउँछ ।

७.उल्लेखित भनाईहरुमा कति सत्यता छ त्यो विज्ञ पाठकवर्गले स्वयं बुझेर टिप्पणी गर्न स्वतन्त्र हुनुहुन्छ । अनलाईन पढाईको जति चर्चा छ त्यति सिकाई नभएको तथ्यमा कसैको बिमति छैन । यो बिपदकालमा शिक्षण सिकाईको अरु बिकल्प पनि झनै जोखिमपूर्ण छन् । कोरोना संक्रमणको स्तर हेरेर शिक्षण संस्थाहरुमा सम्पर्क कक्षाहरु संचालन गर्न भने सकिन्छ । स्वास्थ्य सावधानीलाई कडाईका साथ पालना गर्दै आलोपालो सिस्टममा एकाध घण्टा भौतिक कक्षा नै उपयुक्त हुन सक्छ । कतिपय जिल्लामा न्यून संक्रमण भएकाको हकमा अवस्था अनुरुप सम्पर्क कक्षाहरु चलाउन सकिन्छ । अति जोखिम भएकाको हकमा पूरै बन्द गरेर सावधानी अपनाउनु पर्ने हुन्छ । घरदैलोमा शिक्षक जाने वा टोलटोलमा चौतारीमा वा कतै बरण्डामा भेला गरेर पढाउने काम झनै जोखिमपूर्ण देखिन्छ । फेरी पनि अनलाईन कक्षाको बिकल्प त अनलाईन कक्षा नै हो । बरु, यो कक्षालाईृ कसरि प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय सबै शिक्षा सम्बद्ध जिम्मेवारहरुको बहस र छलफल संगै निर्णयको प्राथमिकतामा आउनै पर्ने अपेक्षा गरिएको छ ।