‘अध्ययन पूरा गरी घर गाउँमै स्थापित हुन्छु भनेर बसिरहेको थिएँ । समयले कोल्टे फेरिदियो, मलाई पनि तानेर आखिर तिमीहरुकै सहरमा ल्याइदियो । ’‘हामी आउँदा जुँगाको रेखी बसेको थिएन । यही ठाउँमा दारी फुल्यो ।’
‘हामी आउँदा मुस्किलले पाँच सय पनि नेपाली थिएनन् । शिला खोज्नुपथ्र्यो । एयरपोर्टमा नेपाली आइपुगेको खबर सुन्दा दौडिएर भेट्न/लिन जान्थ्यौं । उसलाई घुमाउँथ्यौं । चिना परिचय गथ्र्यौं । खर्च दिन्थ्यौं । साउदीको बोर्डरतिर नेपाली छ भन्दा प्रहरीलाई भनेर भेट्न जान्थ्यौं । ती दिन बेग्लै थिए । अहिले कुमकुम ठोक्किँदा पनि मतलब छैन । ’‘मेरो पासपोर्ट र पैसा फिर्ता दिनुस्, म जान्न“। ममाथि खेलबाड भयो, गाउँको मान्छेलाई यसरी अल्झाउने ?’
‘तेरा अब दुःखका दिन गए । पहिलाका जस्ता दिन रहेनन् । हेर्, राम्ररी पकाएर खाएस्, मेरो चिन्ता लिनु पर्दैन, पहिलेजस्तो चानचुने कमाइ होइन । पूरै महिनाको ३५ वटा हजारका नोट हात पर्छ ।’ ‘तिमीहरूले केकति भनेर आयौ हामीलाई थाहा छैन । म्यानपावरले के भन्यो यसैले जानोस्, पहिलाको करारपत्र यहाँ लागू हुँदैन, कम्पनीले दिएको करारपत्रले मात्रै मान्यता पाउँछ ।’
‘तपाइँले पठाएका मान्छे यहाँ अलपत्र परेका छन् । सम्झौताअनुसार काम र तलब पाएका छैनन् । कि काम दिलाउनु पर्यो, कि नेपाल झिकाउनु पर्यो ।’ ‘यहाँ त हाम्रो कुकुर मराई छ । कसैलाई मतलब छैन, बलियो देशको नागरिक भए पो हैसियत हुन्थ्यो । यो सबै हाम्रै देशका नेताका कारण यस्तो भएको हो ।’ ‘छोरी बिमारी छे रे, बुढीले अस्पताल लिएर आएकी रहिछे, भोलिसम्म पैसा पठाइदिनु पर्ने भयो । तलब आउन अझै १५ दिन बाँकी छ ।’ ‘दिनभरि घामले पोल्छ, रातभरि उडुसले टोक्छ ।’
‘मेरो एक्लो लडाईंले कम्पनीमा कार्यरत एक सय १६ जनाले अब मुद्दामामिला गर्नुपरेन । न्याय पाउने बाटो सजिलो छैन । कठिन छ । हामीले हार खानुमात्रै हुन्न रहेछ ।’ ’ऊँ टका लागि जौ मिसिएको दाना उसिनेर खाऊँ कि जस्तो लाग्यो, तर नमिठो गन्ध आएर मुखमा लैजान सकिएन ।’ ‘गाडीबाट डोरीजस्तो झिकेको थियो । गोरू पिटे झैं जथाभावी भुतुक्कै पर्नेगरी हान्यो । पिसाब त तुरूक्कै निस्कियो ।’
‘सात वर्षको तलब पनि बाँकी छ । यो तलब उठ्नासाथ म फर्किन्छु । पहिलाको जस्तो दुःख छैन । ऊँट चराउन टाढा–टाढा जानु पर्दैन ।’ ‘गधा जोत्नेको जीवन पनि गधै हो त ? कम से कम गधाले त दिउँसो बस्न पाएको छ ।’ ‘सञ्जीव तिमीले आजैको मितिबाट कम्पनीको सबै हिसाबकिताब हेर्नुपर्छ । तिमी सक्छौ ?’ ‘कमिसन कति लिन्छौ त ? १५ सय दिनार । हामीलाई ठग्न खोजेको ? हामीलाई त पशुसरह पो बिक्री गरिँदो रहेछ ? मान्छेको पनि मोलमोलाई हुँदो रहेछ । मूल्य हुँदोरहेछ । आज एलिनाको बिक्री भयो, भोलि हाम्रो हुनेछ ।’ ‘राजदूत साब हामीलाई जुम्राले टोकेर मार्न लाग्यो । यहाँ बिरामीलाई पनि उपचार गर्न तुरुन्तै लैजाने व्यवस्था छैन । हामी त यहीँ कुहिने भयौं ।’ ‘मेरो श्रीमानको शव कहिले आउँछ ?’
’यो शव पूर्णबहादुरकै भन्ने कसरी ग्यारेन्टी गर्न सकिन्छ ? बाकस खोलेर हेर्न पाउनु पर्छ ।’ ‘तिमीहरुलाई बूढो चाहियो, विदेश नजाँदा गएन भन्ने, गएको चार–पाँच महिना नहुँदै मेरो बूढो चाहियो भन्दै आउने ?’ तिमीहरु जहाँ गएपनि केही नापिन्न ।’
१८ वर्षदेखि पत्रकारितामा सक्रिय, हेटौंडा स्कूल अफ म्यानेजमेण्टबाट पत्रकारितामा स्नातक, स्थानीय हेटौंडा सन्देश दैनिकमा आवद्ध भई पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनका लागि काठमाडौं रहँदा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध, सन् २०१२ देखि कतारबाट साप्ताहिकरूपमा शुक्रबार प्रकाशन हुने कान्तिपुर कतार संस्करणमा सन् २०१६ सम्म काम गरेका होम कार्कीले लेखेको सनैयाबाट सापटी लिएका अंशहरु हुन्, माथिका । माथिको भनाइले नेपालमा रोजगारीको अवस्था कस्तो छ, रोजगारीमा गएपछिको अवस्था, परिवारका सदस्य विदेश अनि स्वदेशमा बस्ने आमाबुबा.जाहानको अवस्था के कस्तो रहेछ भनेर छर्लङ्ग पारेको देखिन्छ ।
आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारीका लागि अन्य मुलुक जानु सायद बाध्यता नै थियो होला सबैलाई । सुख्खा मरूभूमिमा पसिनाको धारा बगाएर आफ्नो परिवारका लागि खुसी लिन गएकाहरूको कथा छ, सनैयामा । अरबको खाडीमा श्रीसम्पत्तिका लागि नदेखिने श्रम गरिरहेका लाखौं मनहरुको व्यथा छ, सनैयामा । रियाल, दिनार र दिराममा आफ्नो रगत साट्न पुगेका हजारौं मुटुहरुको कहानी छ, सनैयामा । राजदूतावासमा नेपालीले झेल्नु परेको अनि त्यही देशकाले नेपालीप्रति गर्ने व्यवहारको यथार्थ चित्रण रहेको कथा छ, सनैयामा । देश र समाजले आफ्नै घरमा कलकलाउँदो जोवनको रस चिनेर पोख्न नसकी विदेश जान बाध्य बनाएका वीर नेपालीहरुको गाथा पोखिएको छ, सनैयामा । रेमिट्यान्समा अल्झेको, सिङ्गो जोस जाँगर बोकेका श्रमिकहरुले भोग्नु परेको अपमान, उपेक्षाहरुको निराकरण गर्न झिनो आशा बोकेकाहरुको सपना छ, सनैयामा ।
आफ्नो सीप भए मज्जाले इज्जत र पैसा कमाउन सकिन्छ भन्ने केहीको उदाहरण पनि छ यस सनैमा । आफ्नो परिवारको बिचल्लीमा नाङ्गो आकाशमुनि रात काट्न विवश भएकाहरुको कथा लेखेका छन्, लेखकले । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको, जसले गर्दा नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका कुरोलाई लेखकले बडो आकर्षक ढङ्गले पस्कन सफल भएका छन् । मानिसका आफ्ना आवश्यकता परिपूर्तिका लागि विश्वका कुना–कुनामा पुगेका, जसले गर्दा ज्ञान, सीप, क्षमता वृद्धिका साथै कही“ कतै आर्थिक अवस्थामा समेत वृद्धि भइरहेको कुराको पनि मलिनरुपले उठान गरेका छन् ।
वैज्ञानिक र औद्योगिक युगमा वैदेशिक रोजगारी नेपाललगायतका विकासोन्मुख देशहरूको रोजाइको विषयभन्दा बढी बाध्यता र स्वाभाविक विषय बन्न पुगेको कुरा तथा अल्पविकसित मुलुकको रुपमा रहेको नेपालमा आवश्यक रोजगारी, सीप र प्रविधिको कमी छ र बेरोजगारी संख्या बढ्दो छ, जसका कारण विदेशी मुलुकको सहयोग र नेपाली युवायुवतीले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र थामिएको छ भनेर पनि लेखकले जोडेका छन् । नेपाली इतिहासमा वैदेशिक रोजगारी सर्वप्रथम नेपालीहरु कसरी छिरेका थिए र त्यतिखेरको अवस्था कस्तो थियो भनेर जस्ताको तस्तै पत्रकारिताको भाषामा कोर्न सफल भएका छन्, अनि त्यहीँबाट नेपालीले वैदेशिक आयआर्जन नेपाल भित्र्याउन थालेका कुराहरुलाई पनि उठान गरेका छन् । माओवादी द्वन्द्वकालपछि सुरक्षा र अवसरका लागि विदेशिने नेपालीको क्रम बढिरहेको कुराहरुलाई पनि सनैयामा उल्लेख गरेका छन् ।
जीवनलाई खुसी र सम्पन्न तरिकाले बिताउन आर्थिक उपार्जन महत्वपूर्ण बन्दै विश्व परिवेशमा नेपालीहरु पनि आफ्नो देशमा भन्दा विदेशमा बढी अवसर र आर्थिक उपार्जन हुने देखेपछि वैदेशिक रोजगारलाई बढी महत्व दिँदै आएका कुरा पनि छर्लङ्गै छ । त्यस्ता कुराहरुको पनि उठान गरी समस्या झेलिरहेका लाखौं आत्मा रोइरहेको आवाज पनि गुञ्जाएका छन् आफ्नो कृतिमा, लेखकले । गरिबी, अशिक्षा र स्वदेशी पुँजीको कमीले गर्दा पनि युवामा वैदेशिक रोजगारी नै पहिलो रोजाइको विषय बनेको यस्तो विकराल अवस्थामा देशले केही गर्न नसक्नु लाचारीपन हो भन्न पनि खोजेका छन्, लेखकले ।
हुन त विदेशमा गएर गरेको आम्दानीले आफ्नो जीवनलाई आर्थिकरुपमा सफल बनाउनु सकारात्मक पक्ष हो । विदेशमा जाँदा ज्ञान र सीप पनि सिक्ने मौका मिल्दछ र त्यसलाई नेपालमा लागू गर्न सकियो र सोहीअनुरुप काम गर्न सकियो भने पनि त्यसले फाइदा दिन्छ । विदेशमा जाँदा गर्नुपर्ने काम, सम्बन्धित देशको भाषा, परिवेश पनि राम्रोसँग बुझेर जान सकियो भने त्यसले पक्कै पनि फाइदा दिन सक्दछ भन्ने एउटा ज्वलन्त उदाहरण पनि पस्केका छन् । स्वदेशमा आयआर्जन गर्न राम्रै काम हुनुपर्ने सोचले गर्दा, छिटोछरितो सम्पत्ति कमाउने लालसा वृद्धि हुनु र स्वदेशी कामभन्दा विदेशी काममा डलरको सपना सजाउनुजस्ता कारणले पनि वैदेशिक रोजगार कतिपयको रोजाइ भएर जाँदा सोचेको जस्तो नहुनुले पनि दुःख पाइन्छ भन्ने कुरा पनि देखाएका छन्, सनैयामा ।
विदेशमा जाँदा अपनाउनु पर्ने सुरक्षा, भाषा, गर्नुपर्ने कामदेखि लिएर अदक्षरुपमा वैदेशिक रोजगारमा जाँदा विभिन्न समस्याहरु देखापरेको पाइन्छ । आफूले नजानेको कामले गर्दा रोजगारीको अवसर गुम्ने, विभिन्न दुर्घटनाहरुमा परेर घाइते हुने, ज्यान गुमाउनुपर्नेजस्ता बाध्यताहरु पनि निम्तिन सक्दछन्, जसले गर्दा विदेशमा बोकेर गएका सपनाहरू टुक्राटुक्रा हुने रहेछ भनेर पनि उजागर गरेका छन् । वैदेशिक रोजगारीको कारण विदेशमा मात्र होइन, उनीहरूका सदस्यले स्वदेशमै पनि विभिन्न समस्याहरु भोग्न बाध्य भएको कुरा, लामो समयसम्म विदेशमा रहँदा घरपरिवारको बिचल्ली हुने, परिवारमा माया, स्नेह घट्दै जाने, परिवारसँगको निकटता घट्दै जाने, परिवारमा विचलन हुनेजस्ता समस्याहरु पनि देखा पर्दै गएका कुराहरू छर्लङ्गै देख्न पाइन्छ, सनैयामा ।
वैदेशिक रोजगारीले ग्रामीण जनताको जीवनस्तर उकासी गरिबी न्यूनीकरण, अर्थतन्त्र सुदृढीकरण र विदेशी मुद्रा भित्रनुको साथै वैदेशिक ज्ञान, सीप र अनुभवले तत्काल बेरोजगारी समस्या समाधान गर्न सक्छ तर सम्झौताअनुसारको काम र ज्याला नपाउनु, कष्टकर र क्षमताभन्दा बढी काम गर्न बाध्य पारिनुले विभिन्न किसिमका समस्याहरु सिर्जना भएको पाइन्छ, जसले गर्दा मानसिकरुपमा विछिप्त हुने, मानसिक अवस्था गुमाउने, आत्महत्या गर्ने घटनाहरु सुनिँदै आएको कुरा पनि उल्लेख गरेका छन्, सनैयामा ।
नेपाली युवाहरु विदेश जाने क्रममा देखिने समस्याहरु अनेक प्रकारका छन् । नेपाली कामदार वैदेशिक रोजगारमा जाने प्रस्थान विन्दुबाटै विभिन्न समस्या पर्ने गरेको पाइन्छ । विदेशमा जाने युवालाई नियमन र नियन्त्रण गर्न नसकिनु, वैदेशिक रोजगारमा अलपत्र परेकाको उद्धार नहुनु, घरेलु कामदारमा जाने महिला हिंसामा पर्नु, विदेशमा नेपाली नेपालीबाटै ठगिनु, डलरमा बेचेनु र वैदेशिक रोजगारका विषयमा त्यससँग सम्बन्धित निकायमा दैनिकजसो पर्ने हजारौंको संख्याका उजुरीले वैदेशिक रोजगारलाई चुनौतीको विषय बनाएको छ । यस्ता खालका कुराहरूको पनि उजागर गरेका छन्, पत्रकारिताको भाषामा ।
कतिपय ठाउँमा आलेख पढेको जस्तै भएर निद्रा लाग्ने अवस्था पनि रहेको छ । विषयवस्तुको चयन गज्जबकै भए तापनि नवसर्जकको मन भने त्यति तान्न सक्दैनकि भन्ने आभास भएको छ । शीर्षकअनुसारको विषयवस्तु लामो–लामो भएकाले पनि होला कतिपय ठाउँमा त वाक्कै पनि लाग्ने खालको छ । विशेषगरी १०, ११ र १२ कक्षामा अध्ययन गर्नेका लागि यो किताब विद्यालयले नै राखी अनिवार्य पढ्न लगाएमा विदेश जानेको लर्कोमा कम हुन्थ्यो कि, अनि गइहाले पनि केही न केही सीप सिकेर जान्थे कि भन्ने कुरामा ढुक्क छु । समग्रमा लामो समय पत्रकारितामा कलम चलाएको प्रभाव पर्नु नौलो कुराचाहिँ होइन । एउटा पत्रकारले पनि वास्तविक दस्ताबेज तयार पारी समाज सुसूचित गर्न सक्नु सफल हुनु हो भन्ने मेरो ठम्याई छ ।