हेटौंडाः यसवर्ष पनि अरु वर्षहरु जस्तै काला बादलका मेघ मालाहार, हिलो अनि हरियोका साथ असार आइपुगेको छ । असार अर्थात् बिक्रम सम्वतको तेश्रो महिना, शाब्दिक अर्थ केलाउने हो भने असार इरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषिप्रधान गाउँ हो । असार शब्दको पृष्ठभूमिले पनि एउटा प्रमाण इरानतर्फ देखाएको छ । अर्कोतर्फ ईस्लाम धर्ममा दिनहुँ गरिने ५ प्रार्थनामध्ये एउटालाई अस्र भनिन्छ । इजिप्टमा चाहिँ मृत्युका देवतालाई ओसरिस असार भनिनेरहेछ ।
धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्व भएर पानीका धाराहरु बर्षाउँदछन् । माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुन्छन् अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौं ।
बर्खाको उत्कर्षको समय हो, तर झरीका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कताकता पानी नपरेर धानको बिउ नै सुक्यो भन्ने कुराको फेहस्ति हरेक वर्ष फरकफरक हुनेगर्दछ । हरेक वर्षको असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।
असार महिनाको सामाजिक र आर्थिकमात्र नभइकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । ‘असारै महिनामा पानी पर्यो रुझाउने’, ‘असारे मासमा धान रोपे झैँ खेतमा’लगायतका विभिन्न रोमाञ्चक र जनमानसमा प्रचलित गीतहरु पुस्तौंदेखि असारको सेरोफेरोमा लेखिएका र गाइएका छन् । पहिलेपहिले जस्तो खेतमा लाम लागेर धान रोप्दै सामूहिकरुपमा असारे गीत गाउँदै रोपाईं गरिने धेरै कममात्र पाइन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जसले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् । यस्ता रोपाईंहरुको मध्यमा पर्ने असार पन्ध्र एउटा व्यस्तताबीच थकाई मारिने चाड हो, दहीच्यूरा, आँपलगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकाले नै होला असार पन्ध्रलाई दहीच्यूरा खाने दिन पनि भनिन्छ ।