हेटौंडाः कोरोना भाइरसको महामारीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै व्यवसायीहरुको घरभाडामा छुट प्रदान गर्नका लागि नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरले आग्रह गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले कोरोनाको कारण जारी निषेधाज्ञाले गर्दा व्यवसायहरु ठप्प भएको अवस्थामा घरधनीहरुले केही छुट प्रदान गरेमा व्यवसायीहरुलाई राहत हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा घरधनीलाई पनि असर नगर्ने र व्यवसायीहरुलाई पनि राहत मिल्ने गरी महासंघले राज्यमार्फत् ५० प्रतिशत घरभाडा छुट गरिदिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिइएको छ । यस्तै, संघले जिल्लाका व्यवसायीहरुका लागि सोहीअनुसार घरभाडा छुट प्रदान गर्नुपर्ने संघका अध्यक्ष पवनकुमार भगतले जानकारी दिनुभयो । विगत २ महिनादेखि निषेधाज्ञा जारी रहँदा व्यवसायीहरु पूरै घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । हाल संघमा आबद्ध ४ सयभन्दा बढी व्यवसायीहरुका लागि संघले आवाज उठाउने अध्यक्ष भगतले जानकारी दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष तथा महासंघका बरिष्ठ उपाध्यक्ष नवराज न्यौपानेले ५० प्रतिशत छुटको विषयलाई व्यवहारमा लैजान पहलकदमी गरिरहेको बताउनुभयो । महासंघले देशभरका प्रत्येक जिल्लामा व्यवसायीहरुलाई घरभाडामा छुट प्रदान गराउन लागिपरेको पनि उहाँले जानकारी दिनुभयो । साथै नगरपालिकाले लिने गरेको घरबहाल करलाई कम गराउन आवश्यक रहेको न्यौपानेको भनाई रहेको थियो । नगरपालिकाले लिने १० प्रतिशत करलाई २ प्रतिशत कायम गर्नुपर्ने उहाँले बताउनुभयो ।
हालको विषम परिस्थितिमा व्यवसायीको हितका लागि काम गर्नुपर्ने बेला मकवानपुर उद्योग वाणिज्य संघ अरु काममा व्यस्त भएको भन्दै संघका महासचिव महेन्द्र राउतले मकवानपुर उद्योग वाणिज्य संघले व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ र व्यवसायीलाई कसरी राहत प्रदान गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्ने बताउनुभएको छ । सबैजना मिलेर बाँच्नुपर्ने बेलामा केही घरधनीहरुले घरबहाल बढाउने काम गरेको भन्दै उहाँले यस्तो अवस्थामा कसैलाई पनि समस्या नपर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरले यस कार्यलाई अभियानको रुपमा लैजाने जनाएको छ । यस अभियानलाई विभिन्न व्यवसायी संघहरुले पनि एक्येबद्धता जनाएका छन् । कपडा तथा तयारी पोशाक संघ मकवानपुरका अध्यक्ष तेजराम अधिकारीले उक्त अभियानमा एक्येबद्धता जनाउँदै हालको अवस्थामा घरधनी र व्यवसायी दुबै पक्षले बाँच र बचाउ भन्ने मुल मर्मलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरले सुरु गरेको यस अभियानलाई आफैंबाट लागू गर्नुपर्ने भन्दै कार्यसमिति सहस्यहरुले पनि आफ्नो घरमा बहालमा बसेकाहरुलाई कम्तिमा पनि १ महिनाको घरभाडा छुट प्रदान गरेको जनाइएको छ ।