हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा मकवानपुरका निजी क्षेत्रले सञ्चालन गरेको पल्पसा आइसोलेसनलाई मंगलबार सहयोग प्राप्त भएको छ । सार्वजनिक मकवानपुर यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार पल्पसा आइसोलेसन सेन्टरका संयोजक कृष्ण कटुवाललाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
मंगलबार नै हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वडा अध्यक्ष कोइरालाले आइसोलेसन सेन्टरका संयोजक कृष्ण कटुवाललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै पल्पसा आइसोलेशन सेन्टरलाई मंगलबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले सहयोग गरेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई महासंघ मकवानपुरका अध्यक्ष चक्रधर विडारीले ५० काटुन पानी हस्तान्तरण गर्नुभएको छ ।
पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ४० जना संक्रमित भर्ना भएका छन् । जसमध्ये १७ जना संक्रमित उपचाररत छन् । पल्पसा आइसोलेसन सेन्टरबाट मंगलबार दुई सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५ पिप्लेका एकजना र हेटौंडा–९ का एकजना बिरामीलाई अक्सिजन सहयोग गरिएको हो । आइसोलेसन सेन्टरले स्थापनादेखि नै निःशुल्करुपमा अक्सिजन सहयोग गर्दै आएको छ ।
कोरोना संक्रमितलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राख्न मकवानपुर निजी क्षेत्रले पल्पसा आइसोलेसन सञ्चालनमा ल्याएको हो । आइसोलेसन सेन्टर सञ्चालनका लागि दैनिक सहयोग जुट्ने गरेको छ । आइसोलेसन सेन्टर सञ्चालनमा सहभागी संघ, संस्थाका पदाधिकारीहरुले हरेक दिन संयोजनको भूमिकामा रहने व्यवस्था गरिएको छ ।