गुगल तस्बिर ।

हेटौंडाः मनहरी गाउँपालिकाका पशुहरुमा खोरेत रोगको लक्षण देखिएको छ । गाउँपालिकाको केही स्थानमा गाई र भैंसीमा खोरेत रोगको जस्तै देखिने लक्षण देखिएको हो ।

यस रोगबाट आफ्ना गाई र भैंसीलाई बचाउन पशुपालक किसानहरुलाई मनहरी गाउँपालिकाले आइतबार सूचना जारी गरेको हो । यसअघि गाउँपालिकाले रोग निदानका लागि नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ । विज्ञ केन्द्रको सहकार्यमा शंकास्पद पशुहरुबाट नमूना संकलन गरी खोरेत तथा सीमाविहीन पशुरोग अन्वषेण प्रयोगशाला काठमाडौंमा नमूना पठाइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । रोगको लक्षण देखिए पनि खोपले राम्रोसँग काम नगर्ने हुँदा विभिन्न सावधानी अपनाउन किसानहरुलाई अनुरोध गरिएको छ ।

खोरेत रोगका लक्षणहरुमा गाई भैंसीमा ज्वरो आउने, खुरको बीच, मुख तथा गिजामा घाउ आउने, खुट्टा खोच्याउने, र्‍याल चुहाउने, दूध घटाउने, तुहिने र प्रायः बाच्छाबाच्छी पाडापाडी मर्ने हुन्छ । रोगबाट पशुहरुलाई मुक्त गराउन विभिन्न सावधानीका उपायहरु अपनाउन किसानहरुलाई गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।

संक्रमित पशुलाई खुला चरन र पानीका स्रोतमा नलैजान गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट अनावश्यक पशु ओहोरदोहोर नगर्न र फर्ममा अनावश्यक मानिसहरुको आवतजावत नगर्न आग्रह गरिएको छ । संक्रमित पशुको दूध पाडापाडी तथा बाच्छाबाच्छीलाई नचुसाउन, संक्रमित दूध राम्रोसँग उमालेरमात्र प्रयोग गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट पशु खरिद नगर्न अनुरोध गर्दै प्रकोप देखापरेको ६ महिनापछि मात्र खरिद गर्न भनिएको छ ।

यसैगरी संक्रमित पशुको गोठमा चुना, फिनाइल तथा अन्य क्लोरिन डिस्इन्फेक्टेन्ट आदि छर्ने गर्नुपर्छ । संक्रमित पशुको मुख दिनमा ३ देखि ४ पटक पोटासियम पारम्याग्नेट वा फिटकिरीले सफा गर्नुपर्दछ । खुरलाई दैनिक २ प्रतिशत निलोतुथोको झोलले साफा गर्नुपर्ने तथा संक्रमित पशुलाई हरियो नरम र पोसिलो घाँसपात दिनेलगायत यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा पशुपक्षी शाखामा सम्पर्क गनुपर्दछ ।

गाई, भैंसी, भेडाबाख्रा तथा बंगुरलगायतका पशुमा लाग्ने यो रोग नियन्त्रणका लागि सरकारले डेढ दशकदेखि प्रयत्न गरिरहेको भएपनि आशातित सफलता प्राप्त हुन सकेको छैन । जिल्लाको सबै ठाउँमा देखिँदै आएको र घरपालुवा पशुमा मुख्य रोगका रुपमा मानिएको खोरेत नियन्त्रणका लागि भ्याक्सिनको व्यापकतासँगै जनचेनता जरुरी देखिन्छ । मुख्यतः यो रोगका लागि भ्याक्सिनको ठूलो महत्व भएकाले सरकारले अहिले खरिद गर्दै आएको संख्यामा वृद्धि गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकको जोड छ । औषधी नबनेको र भ्याक्सिन पनि पूर्ण प्रभावकारी नहुँदा खोरेत नियन्त्रणमा चुनौती देखिएको हो ।