हेटौंडाः बागमती प्रदेशमा हाल ११ हजार ९१ जना सक्रिय संक्रमित रहेका छन् । बागमती प्रदेशमा ९५ प्रतिशत कोभिड संक्रमितहरु निको भएका छन् । कुल संक्रमित ३ लाख ९४ हजार १ सय ९४ हजार मध्ये प्रदेशमा हालसम्म ३ लाख २० हजार निको भएका हुन् ।
१.०९ प्रतिशत अर्थात ३ हजार ६ सय ५० जनाको कोभिडको कारण मृत्यु भएको छ । पछिल्लो एक महिनामा कोभिड संक्रमणदर घटेपनि अस्पतालमा उपचार गर्ने र कोभिडको कारण मृत्यु हुनेको संख्यामा भने खासै कमी आउन सकेको छैन ।
प्रदेशमा अहिले ९ हजार १ सय ६७ जना संक्रमित होम आइसोलसनमा बसेका छन् । १४६ जना भेन्टिलेटरमा, आइसियूमा ३३६ जना, एचडियूमा ५ सय ९३ जना, अस्पतालको बेडमा ३१५ जना, आइसोलेसन सेन्टरको बेडमा ५ सय ३४ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा २१ जनाको कोभिडको कारण मृत्यु भएको छ । यस्तै १६७ जना कोभिड संक्रमितहरु थपिएका छन् । एक महिनाको तथ्यांक हेर्दा प्रदेशमा कोरोनाको जोखिम घटेको सामाजिक विकास मन्त्रालयको कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिडको दोस्रो लहरमा संक्रमण दर उच्च बिन्दुमा पुगेको थियो । अबको दुई हप्तामा संक्रमण दर तीन हजार भन्दा तल आउने उहाँले बताउनुभयो ।
प्रदेशमा सबैभन्दा धेरै २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका नागरिकमा कोभिड संक्रमण पुष्टि भएको छ । सो उमेर समूहका ४९ हजार ३ सय ४३ जना पुरुष र ३६ हजार ३ सय ४२ जना महिलामा संक्रमण पुष्टि भएको सेढाईले बताउनुभयो ।