हेटौंडाः शनिबार हेटौंडा–१ स्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्वच्छता किट वितरण गरिएको छ । बालश्रम शोषण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इस्थर बेञ्जामिन स्मृति संस्था र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्वच्छता किट वितरण गरिएको हो ।
‘अहिल्यै काम थालौं, बालश्रम अन्त्य गरौं’ भन्ने मूल नाराका साथ बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । सुन्दर, सम्मुनत र सभ्य समाजको निर्माण मा बाल अधिकारको संरक्षण, सहभागिता र प्रबद्र्धनमा सबैले हालेमालो गर्नु पर्ने इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापक बुद्धवीर लामाले बताउनुभयो । कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई अहिले श्रममा भन्दा पढ्नमा नै अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कोरोना संक्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञा र यसबाट सिर्जना भएको जटिल परिस्थितिमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्वच्छता किट वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य उमाकान्त गौतम, मानबहादुर लामा, लक्ष्मी घिमिरे, हिमराइट्स मकवानपुरकी कुमारी लामा, इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम अधिकृत दिनेश हुमागाई, विद्यालयका शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।