हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै युवा संघ मकवानपुरले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेको छ ।
शुक्रबार प्रदेश सभा बैठकमा वैद्यको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि शनिबार वैद्यले प्रदेश सभामा माफी समेत मागिसकेका छन् । युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीद्वारा हस्ताक्षरित जाहेरी शनिबार मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरलाई बुझाइएको छ ।
युवा संघ नेपालका केन्द्रीय समिति सदस्य सन्तोष चौलागाई नेतृत्वमा युवा संघ आवद्ध एक समूहले प्रहरी उपरीक्षक राठौरलाई जाहेरी निवेदन बुझाएको हो । युवा संघ मकवानपुरले वैद्य विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफ ३५ को उपदफा ३ (ख) बमोजिम कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएको छ ।