हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविले विद्यालय तहमा अध्ययन–अध्यापन हुने गणित विषयको उपयोगिताबारे विमर्श गर्ने भएको छ ।

विद्यार्थीहरुकै सक्रियतामा गणितको उपयोगिताबारे विमर्श कार्यक्रम हुन लागेको हो । गणितको उपयोगिताबारे गरिने छलफललाई ‘म्याथ क्याम्प फायर’ नाम दिइएको छ । कोरोना महामारीका कारण म्याथ क्याम्प फायर भर्चुअल माध्यमबाट हुनेछ ।

गणितको उपयोगितासँगै विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व तथा प्रस्तुती क्षमता विकासमा पनि कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा कक्षा ४ देखि १० सम्मका जुनसुकै विद्यालय विद्यार्थी सहभागी हुन सक्ने नवोदय म्याथ क्लबका अध्यक्ष इशान शर्माले बताउनुभएको छ ।

मंगलबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी गराएको थियो । अन्तर्राष्ट्रिय पाइ डेका दिन असार १४ गते कार्यक्रम हुनेछ । कार्यक्रममा विद्यार्थीको सहभागिता निशूल्क नै हुने बताइएको छ । नवोदयले गत वर्ष पनि म्याथ क्याम्प फायरको आयोजना गरेको थियो ।