चर्पी गएको मान्छे र युद्धमा गएको सिपाहीको फर्कने ठेगान हुँदैन भन्छन् । खासमा मोबाइल बोकेर चर्पी गएको मान्छे कत्ति व्यस्त भएको है ? बाहिरबाट स्वीच अन अफ भैराखेको छ, ढोकामा हातदेखि लातसम्म बज्रिसकेको छ । बज्रन बाँकी सुदर्शन चक्र मात्रै हो ।
फेसबुकका सबै स्टाटस पढेर, कमेन्ट गरी भ्याएर, अनलाइनदेखि वनलाइनसम्मका समाचारले प्रेसर बढाएर, चटकम चुट्किलादेखि डटकम खुट्किलासम्मको खजाना भ्याइसकेपछि पनि मान्छे बाहिर निस्किँदैन ।
कहिलेकाहीँ यस्तो पनि लाग्छ, आ पूरानै शैली ठीक । तर के गर्नु हरठाउँ खुला दिसापिसाबमुक्त क्षेत्र घोषित अनि हातहातमा मोबाइल । भिडियो खिचेर भाइरल बनाइदिए भने देशविदेशबाट चर्पी बनाउन अर्बौं रूपैयाँ दान, सहयोग उठाइदिने दाताहरू जन्मेलान् भनेर लाज पनि लाग्छ ।
संस्कृत जमानामा चर्पी घरभन्दा धेरै टाढा हुने गथ्र्यो । आजकाल चर्पीमै नुहाउने व्यवस्था भएकोले यसलाई वाथरूम भन्न थालियो । कसैले छुट्याए, कसैले जोडे । दुवैलाई सुहाउनेगरी वासरूम नाम पनि दिन थालिएको छ ।
त्यस समय खुला स्थानमा दिसापिसाब गरिन्थ्यो । त्यसले सतहको पानी दुषित बनाउँथ्यो । अहिले बन्दकोठामा दिसापिसाब गरिन्छ । यसले जमिनमुनीको पानी बिगारिरहेको छ । यसैले अब दिसापिसाब स्टोर गर्ने क्लाउड स्टोरेज चाहिएको छ । त्यसको अनुसन्धानका लागि पनि चर्पीमा नै धेरै समय बिताउनैपर्ला । मान्छेका फूर्सदै बिकीसकेको छ । फेसबुक, ट्वीटर, टिकटक, पब्जी, इन्स्टाग्राम, इदरदिदर…. यी सबैलाई भ्याइनभ्याई हाम्रा फुर्सद बेचिरहेका छौं ।
हजुरबा चर्पीलाई पाइखाना भन्नुहुन्थ्यो । जीमखाना, कारखाना, जोखाना, तोपखाना, झ्यालखाना जस्ता नामले नै चर्पीको नाम ‘चर्पीखाना’ नभएर पाइखाना किन भएको होला ? पाइखाना कसले राख्यो, किन राख्यो भन्ने कुरा पाइथागोरसलाई पनि थाहा भएन कि । लामपुच्छ्रे हिसाब पढ्ने जमानामा ‘पाइ’ कताबाट जोडियो होला ? खोजीकै विषय हो । कतै पाइथागोरस हाम्रै पाँचथर वा पाल्पातिर बस्थे कि भन्ने मेरो शंका हो । पढाईले खाएका पाताला, पहेँला, जाडामा नांगा पाइतालाले हिउँमा टेकेर त गर्मीमा पञ्चाग्नी तापेर कडा परिश्रमका साथ तपस्या गर्ने तपाई–हाम्रा परमपरमेश्वर शिद्धपुरूष पितृ नै पाइथागोरस हुन् भन्ने मेरो अनुमान हो ।
अर्को कुरा ‘गाइ गोरस भाइ भरोस’ उखानलाई आधार मानेर पनि आँकलन गर्न सकिन्छ । दशौं सन्तानका रूपमा जन्मिएको सन्तानलाई ‘पानी मन्तरे’ भनिन्छ । धेरै सन्तान भएर गोरस (दुध, दही, घ्यू) केही नभेटेर नै पानीमन्तरेले गोरससम्म भेटेन भन्दाभन्दै ‘पानीमन्तरे गोरस’ बाट अपभ्रंश भएर पाइथागोरस बनेको हुनुपर्छ । साथै चर्पीमा पत्ता लाग्ने यस्ता तथ्यहरू चर्पीमै अन्त्य होस् भनी आग्रह गर्न पनि चाहन्छु ।
चर्पी आविष्कारको जननी हो । पत्याउनुहुन्नँ ? आर्किमिडिज पानीमा तैरने सूत्र ‘पत्ता लाग्यो, पत्ता लाग्यो’ भन्दै बाथरूमबाट नांगै बाहिर निस्किएका थिए । दुनियाँले सम्झाइदिएपछि लाजैमर्नु भयो । आइन्सटाइन र टेस्लाले आविष्कारबारे सोँच्दासोँच्दै विहे गर्नै भ्याएनन् । केभण्डिजलाई केटी देख्नासाथ सरम लाग्थ्यो । थोमसले नाम नै बिर्सिए । यिनले पनि तनावमुक्त हुने ठाउँ चर्पीमैं सोचे, आविष्कार गरे जस्तो लाग्छ । यसै भनिएको होइन, ‘चर्पी सबैको सोच, विचार गर्ने, तनाव मुक्त गर्ने ठाउँ पनि हो ।’
आजकालका केटाकेटीलाई चर्पी भनेको थाहै छैन । यसैले चर्पीलाई ट्वाइलेट भन्दछन् भनेर सिकाउँदै गर्नुपर्छ । अब थकाई मर्नेगरी समय बिताउने भएर आजकाल ट्वाइलेटलाई रेस्टरूम पनि भन्न थालेका छन् । रेस्टरूम मात्रै होइन, बेस्ट रूम पनि हो चर्पी ।
चर्पी आधुनिकताको घोतक हो, सभ्यताको दूतक हो । चर्पी मानवताको परिचायक हो, अप्ठेरोमा सप्ठेरो प्रदायक हो । यसलाई ‘हग्ने ठाउँ’ भनेर अवमूल्यन नगरौं ।
अन्ततः यो लेख पनि चर्पीमै बसेर लेखिएको हो । जनहितमा यो पनि जारी गर्दछु कि कृपया पढिसकेपछि साबुन पानीले हात धुनुहोस् ल । उसै त जमाना खराब छ ।
अँ साँच्चै, बाहिर ढक्ढक् गर्ने मान्छेले ढोकामै भ्याइसक्यो होला । म निस्किएँ । एकछिन ल ।