हेटौंडाः बागमती प्रदेश सभाको अर्थ तथा विकास समिति निष्क्रिय बनेकोे छ । यो समितिको कार्यक्षेत्र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन हो ।

अहिले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम र बजेट निर्माणको समय छ । बजेट निर्माणमा पहुँचवाला नेताको क्षेत्रमा मात्रै ठुला योजना र विकास बजेटहरु बढी छुट्टीने गरेका छन् । यसैगरी चालू वजेट पनि पूर्णखर्च हुन सकेको छैन । प्रदेश नीति तथा योजना आयोगले सरकारलाई योजना दिने काम गर्नुपर्ने हो । तर योजना आयोग नै योजनाबिहीन छ । योजना आयोगको खारेजीबारे प्रदेश सभामा विपक्षी दलका नेता इन्द्र बानियाँले पटक पटक आवाज उठाउँदै आएका पनि छन् ।

समितिले आवश्यक सुझाव र निर्देशन प्रदेश सरकार र मन्त्रालयलाई दिनुपर्नेमा समिति आफैं निष्क्रिय हुनु लज्जाको विषय पनि हो । यसअघिका अर्थ तथा विकास समिति सभापति सरेश नेपाल प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनिसक्नुभयो । उहाँ मन्त्री बन्नु पूर्व समिति सभापति रहँदा पनि समितिले भनेजस्तो काम हुन सकेको थिएन । यो वर्षमा समितिले रकामान्तर र कोभिडको समयमा काम नहुँदा बन्द हुन लागेको आयोजनाको बजेट फ्रिज नगर्न भौतिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिएको थियो । यी बाहेक पाँच सात वटा वैठक बसेको समितिका सचिव परासर खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा कतिपय विषयको निर्णयहरु अझै हुन बाँकी छन् ।

बैठकमा पनि सामान्य छलफल मात्रै हालसम्म भएकोे उहाँको भनाई छ । चालू वर्षमा समितिले प्रदेशको २ मन्त्रालयलाई निर्देशन दिएपनि प्रदेश सरकारलाई भने कुनै निर्देशन वा सुझाव दिन सकेन । केन्द्रमा समितिहरुको सक्रियता निकै देखिन्छ । तर प्रदेशमा भने समितिहरु बलियो बन्न सकेका छैनन् । बागमती प्रदेश सभामा अर्थ तथा विकास समितिका सभापति नै नभएपछि अन्य सदस्यहरु पनि अन्यौल भएका छन् । समितिमा १९ जना सदस्यहरु छन् । उनीहरु मध्ये आधा सांसदहरुको उपस्थितिमा जेष्ठ सदस्यको रुपमा आङ देण्डी लामाको संयोजकमा समितिको बैठक प्रदेश सभाको आठौं अधिवेशनको बैठक बसेको भोलिपल्ट बसेको समिति सदस्य शोभा शाक्यले बताउनुभयो ।

समितिको बैठकले वार्षिक प्रतिवेदन तयार गर्न एक उपसमिति निर्माण गरेको छ । आङ देण्डी लामाको संयोजकमा शशी जंग थापा, शोभा शाक्य, शान्ति थिङ र शान्ति पौडेल उपसमितिमा छन् । तर उपसमितिले छलफलका लागि भने बोलाएको छैन । समिति सक्रिय हुनुपर्ने समय भएपनि त्यसो हुन नसकेको समिति सदस्य शोभा शाक्य भन्नुहुन्छ । उहाँले अब बस्ने प्रदेश सभाको बैठकपछि नयाँ सभापति चयन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

यता प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नयाँ मन्त्रिमण्डलको नाम पढेर सुनाउनुभएको थियो । अर्थ तथा विकास समितिको सभापतिबाट सरेश नेपाल बिदाई भएर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनिसक्दा पनि प्रदेश सभाको बेवसाइटमा भने समितिको सभापतिमा नेपालकै नाम कायमै छ ।