कोरोना महामारी विश्वव्यापी समस्या हो । नियन्त्रणका लागि शक्ति महाराष्ट्रहरु समेत असफल भएका छन् । विज्ञानको क्षेत्रमा चमत्कार गरेका देशमा समेत ठूलो संख्यामा नागरिकको ज्यान गएको छ । विज्ञानलाई चुनौती दिने भाइरसले नेपाल जस्ता देशहरुमा हुने नोक्सानी लेखाजोखा बाहिरको अवस्था हो । तर पनि साधन श्रोतले भरिपूर्ण देशहरुको तुलनामा नेपालले गरेको प्रयास उल्लेख्य नै मान्नु पर्दछ । अझै जति गर्न सक्ने थियो त्यति नभएको भन्दै नागरिकमा असन्तोष व्याप्त छ । राज्यको प्राथमिकता कोरोना नियन्त्रण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न तर्फ भन्दा सत्ता बचाउने तर्फ नै केन्द्रित छ । आफु नभई राज्य नै चल्दैन भन्ने मनोदशाबाट सरकारले काम गर्दा कोभिड प्राथमिकता बाहिर परेको हो कि भन्ने नागरिकको अनुभव छ ।
जुनसुकै अवस्थामा राज्यको जिम्मेवारी नागरिकको सुख सुविधाका लागि हुनु पर्दछ । अझ महामारी, विपद् वा कुनै संकटको अवस्थामा त जिम्मेवारी अझै बढ्ने गर्दछ । यतिबेला कोरोना महामारीले देश थलापरेको छ । नागरिक क्षेत्र अस्तव्यस्त छ । मानिसको दैनिकी संकटमा छ । विहान खाए बेलुकाको चिन्ता छ । आम्दानीका सबै श्रोतहरु बन्द छन् । यस्तो अवस्थामा राज्यले जनताका लागि राहतको व्यवस्था गर्नु पर्ने हो । सरकारले हालै बार्षिक बजेट सार्वजनिक गरेको छ । नागरिकले राहतको प्याकेज नै आउने अपेक्षा गरेका थिए । तर मूल्यवृद्धि हुने गरी कर्मचारीको तलव मात्र बढेको छ । गरिव नागरिकका लागि कुनै कार्यक्रम नभएपछि मानिसमा नैराश्यता बढेको छ । सरकारप्रतिको भरोसा टुटेको छ ।
अस्पतालमा औषधिदेखि अक्सिजन समेतको हाहाकार भएको अवस्थामा समेत सरकारले पूर्ण व्यवस्थापन गर्न नसक्दा नागरिकको ज्यान गएको छ । जनताको जीवनरक्षा भन्दा सरकारको आयु थप्ने काममा लाग्दा मानिसले ज्यान गुमाउनु परेको हो । जनिबेला कोरोना महामारी उच्च विन्दुमा थियो त्यति बेला देशको राजनीतिक नेतृत्व सरकारको जोडघटाउमा व्यस्त भएको हो । त्यही अवस्थामा धेरै नागरिकले ज्यान गुमाएका छन् । मृतकका आफन्त र परिवारजनले राज्य र राजनीतिक नेतृत्वको मूल्यांकन कसरी गरिरहेका छन् ? अस्पतालहरुमा विरामीले उपचार पाउन बेड समेत नपाएको अवस्थामा स्थानीय युवाहरुको सक्रियता निकै प्रशंसनीय देखिएको छ । उनीहरुले औषधि तथा अक्सिजन को व्यस्थापनमा खेलेको भूमिकाले राज्य संयन्त्रलाई ठूलो राहत मिलेको हुनु पर्दछ ।
मकवानपुरका विभिन्न युवा समुहले देखाएको सक्रियताले आपतमा परेका नागरिकले केही राहतको महसुस मात्र गरेनन् कि आश पनि गरेको पाईन्छ । एम्वुलेन्सदेखि अक्सिजन वा अस्पताल जानु पर्ने तथा वेड कहाँ छ वा डाक्टरसँगको परामर्श पनि विरामीका तर्फबाट युवाहरुले गरी दिएका छन् । उनीहरुलाई विरामी र आफन्तले मुक्तकण्ठले सामाजिक सञ्जालमा समेत प्रशंसा गरेका छन् । राज्यका निकायबाट खेलिनुपर्ने भूमिका युवाहरुबाट भएको छ । औषधि पुर्याउनेदेखि खानाको व्यवस्थापन तथा विरामी कुरुवाको भूमिका समेत स्वयमसेवी युवाहरुले गरेर यसपटकको महामारीमा हेटौंडामा युवाहरुको भूमिकालाई प्रभावकारी बनाएका छन् । उनीहरुले गरेको काम कुनै दल विशेष र आस्थागत नभई मानवीय दायित्व अन्तर्गत हो । महामारीमा आशाका केन्द्र बनेका युवाहरुलाई समाजले सधै स्थापित गराउन सक्नु पर्दछ ।