हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालले नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष प्रशन्न चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक रमेशमोहन अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । अधिकारीले यो सिकाइ उपलब्धिपूर्ण रहेकाले सहभागीहरुलाई साहित्यिक सिर्जनामा निरन्तरता दिन आग्रह गर्नुभएको छ । कार्यक्रमका विशिष्ट अतिथि नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक दीपक गौतमले दैनिकरुपमा एक घण्टाको समयमा रचना वाचन र विभिन्न छन्दमा कविता लेख्ने, गजल, निबन्ध, मुक्तक, नाटक कथालगायत साहित्यका विविध विधाको बारेमा सिक्ने अवसर पाइएको बताउनुभयो । साहित्य चौतारी नेपालले राष्ट्रियस्तरमा समेत कविता कार्यक्रम सम्पन्न गर्न सफल हुनु नै ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो ।
कक्षा तीनदेखि स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुसमेत अभिमुखीकरण कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो । सबै मानिस सबै क्षेत्रमा सक्षम हुन नसक्ने हुँदा सबैबाट सिक्ने अवसरको रुपमा यस कार्यक्रमले योगदान दिने बताउनुभयो । नेपाली भाषा सिकाउने क्रममा र साहित्य जगतलाई उजागर गर्न ६० वटा विद्यालयमा पुगेर साहित्यिक मार्गदर्शन दिन सकिएकोले यसलाई उपलब्धिपूर्ण ठानेको बताउनुभयो ।
जापान र अमेरिकादेखि नेपालका विभिन्न जिल्लामा रहेका सर्जक र साहित्यकारहरु यस कार्यक्रममा जोडिएको र एकापसमा परिचित भएको संरक्षक गौतमले बताउनुभयो । विकट र इन्टरनेट नपुगेको ठाउँमा रहेका बालबालिकालाई यस्तो उपयोगी साहित्यिक अभियानमा सहभागी गराउन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
साहित्य जगतमा एउटा छुट्टै पहिचान दिलाउने उद्देश्यसहित साहित्यकारहरुको उत्पादन साथै समाजका विकृति र विसंगतिबिरुद्ध कलम चलाई सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उद्देश्यका साथ करिब एक वर्षदेखि नियमितरुपमा यो कार्यक्रम भइरहेको छ । कार्यक्रममा डीबी बर्ताैला, अर्चना दाहाल, समर्पण न्यौपाने, जयन्ती आचार्यलगायत साहित्यकार र साहित्य सिक्न इच्छुक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।