हेटौंडाः हेटौंडाको भुटनदेवि माविमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचको मतदान सकिएको छ । उपनिर्वाचनमा १० मतदाता उपस्थित भएनन् । हेटौंडाको भुटनदेवि माविमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदान अवधिमा ३३८ मतदाता मात्रै उपस्थिति भएर मत हालेका छन् ।

बागमती प्रदेशको कुल सांसद ११० मध्ये एक सांसद पशुपति चौलागाईको यसअघि नै निधन भएको थियो । बाँकी १०९ मध्ये विवेकशील साझा पार्टीका तीन प्रदेश सांसद रमेश पौडेल, विराजभक्त महर्जन र शोभा शाक्य उपस्थित भएनन् । उनीहरुले आज बिहानै प्रेस विज्ञप्ती जारी गर्दै मतदानमा सहभागि नहुने जनाएका थिए ।
नेकपा माओवादीका दोलाखाकी सांसद हिमाली गोले पनि उपस्थित भइनन् । स्वास्थ्यमा समस्या हुँदा उनी मतदान गर्न आउन नसकेको माओवादी सांसद प्रेम बहादुर पुलामीले बताउनुभयो । प्रदेश सांसद १०५ जनाको मत खसेको छ । जसमध्ये नेकपा एमाले ५६, कांग्रैस २२, माओवादी २२, नेमकिपा २, राप्रपा २ र जसपाका १ सांसदले मात्रै मतदान गरेका छन् ।

यसैगरी स्थानीय तहका ५ जना प्रमुख/उपप्रमुखले मतदान गरेनन् । दोलखा जिल्लाको मेलङ्ग गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, भक्तपुर नगरका मेयर सुनिल प्रजापति मतदान गर्न आएनन् ।

स्थानीय तहका युधिष्ठिर खड्का, कोपिला पण्डित, निमा ग्यालजन शेर्पा नेपाली कांग्रेसका हु्न् भने कल्पना भण्डारी नेकपा एमाले र सुनिल प्रजापति नेमकिपाका हुन् । आज प्रदेश सभाका ५ जना कोभिड–१९ सङ्क्रमित र स्थानीय तहका २० जना संक्रमितले मत हालेका छन् । यस्तै मतदान स्थलमा ३० जनाको ऐन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण भएको छ ।
दिउँसो ४ः३० बजेपछि मत गणना सुरुहुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।