एसके निधन

भारत सरकारको छात्रबृत्ति सहयोगमा बानरसबाट अर्थवेदमा शास्त्री सकाएर गाउँ फर्किएको पण्डित आचार्य बाजेको नाति  हरिश्चन्द्र आचार्यले  मानसिं बिश्वकर्मालाई गायत्री मन्त्र सुनायो रे भन्ने हल्ला चल्यो । र यो पनि भनियो अब मानसिं बौलाउँछ र त्यस्तै संकेत देखियो-

ठ्याक्कै भनेको दिनमा काम सकाएर आउनाले उसले पाएको ट्यामे बुढाको उपाधि उसैले फिर्ता लियो । अर्जाप्न लगेको हँसिया फिर्ता पठाएन न आयो कुटो र कोदालिको नयाँ अडर नै लिन। यसपाली भुण्टा-भुण्टि लावालस्कर लगाउदै उसकी बुहारी कैली बालि उठाउन पनि आईन।

उताबाट उल्कापात हल्ला चल्न थाल्यो- मानसिंले बारिको चिउरिको रुख काटेर वर-पिपल रोप्यो । खुर्सानीको बोट उखेलेर कुश सार्यो । आँगनको खोर भत्काएर तुलसिको मठ बनयो । ब्याउने सुगुर्नी बेचेर श्रीस्वस्थानिको किताब किन्यो ।  छालाको खँलाति बेचेर राधे-राधेको बर्को किन्यो । आरन भत्काएर पुजा कोठा बनायो ।  ———– र उस्ले क्रान्तिकारि अभियान चलाउन थल्यो रे।

यता, हजुरआमाको सधै एउटै गुनासो -यि फुट्या कानले के सुन्नु पर्या; यो कलिजुग कत्ति छिट्टै आको । कामिको घरमा रामयण र श्रीस्वस्थानि। खालाँति चलाउने हातमा शंखघण्ट । आफ्नै छोरानातिले कुकुरको गु खाएपछि धर्मको सत्यनास । थुईक्क ! अशक्तिको जात, हे दैब मलाई काल किन आएन।

हजुरआमाको गुनासो कत्ति सुन्नु ? एउटै रडाको झोक चलेर आयो अनि पाँच कक्षा पढ्दै गरेको छोरोलाई श्रीस्वस्थानिको व्रतकथा सुनाईदिए । अनि गजब भयो तपशिलको नतिजा

००००००००

-ओए ! अशक्ति डाम्नाको सन्तान के गर्या त्यो ?

-ए बज्यैआमाले आँखा देख्न छाड्नु भएछ  आची पुछि राँछु त ।

-स्वस्थानिमाताको पुस्तक च्यातेर गुँ पुस्छन् त मोरा । माताले श्रराप दिन्छिन, अब पाप लाग्छ।

-बज्यैआमा पुनि, त्यहि  श्राप दिन्छिन कि भनेर त उनलाई रिस उठाउन खोज्या के

-हेर बौलाको पापिको सन्तान किन उठाउनु पर्यो मातालाई रिस

-माताले श्रापिन भने त म पनि शालिग्राम; तुलसि र पिपल जस्तै भगवान हुन्छु अनि तपाईले चढाको पैसा पनि मेरो प्रसदि पनि मेरो क्या मज्जा ।

शंखघण्टले अन्न फलाएन । न त धुपको बासनाले पेट भरियो । रासनको अभावले आतंक मच्चाउन थाल्यो। परिवर्तन नायक कमरेड हरिश्चन्द्रसंगको गोप्य बैठक पछि बिश्वकर्मा मुक्ति मोर्चाले क्रान्तिकारी योजना पारित गर्यो ।

– निर्णायक आन्दोलनको तयारी

-बाहुन वस्तिमा सामुहिक आक्रमण

-लत्ताकपडा र अन्नपात कब्जा

– हसियाँ कुटोकोदलो बन्चरो जस्ता हतियार जफत र बिक्री

-बिश्वकर्माको रगत पनि बाहुनको जस्तै रातो छ भन्ने प्रमाणित गरि समान हैसियत बनाउन मानसिँको कमाण्डमा बैचारिक दस्ता निर्माण

बिदेशको अनुभवलाई लिएर छोराले खोलेको सुंगुरफार्ममा हामी थियौ । राम्प्यारीलाई सुत्केरि बेथालागेकोले उसलाई प्रजननगृहमा  राखियको थियो । छोरोको अनुभव बोल्दै थियो: “अबको १०-१५ मिनेटमै हाम्रो फर्ममा पहिलो पाठो जन्मिन्छ ।“ त्यतिनै बेला च्याठिदै मानसिं आईपुग्यो:

“थुईक्क सडेको बाहुन हाम्ले छाड्या काम गर्न थल्यौ हैन ? हेर बुद्दि सुँगुर्निलाई परालको गुन्द्री ।“

खुर्पेटोको आवाज बिनाको  मानसिंलाई  भने “ माने !  हँसिया पो बाङ्गो हुन्छ र खुर्पेटोमा अडिन्छ । तैले त खुर्पेटोमा खुकुरी हालिछस , खसेर खुट्टो काट्ला । “माने गर्ज्यो“ ओ बाहुन बढि पुरान छाट्ट्ने होईन । मुक्ति मोर्चामा खटिएका हामी मिर्त्यु सँग डराउदैनौ  । चुपचाप मेरो कुरा सुन्ने: बिश्वकर्मा मुक्तिमोर्चाले यो सुंगुरको खोर कब्जा गर्ने निर्णय गरिसक्यो भोली झण्डा गड्दै छौ । तिमिहरुलाई भाग्ने समय आजको रात मात्र नत्र—–

– माने ! बौलाईस कि क्याहो ?

– माने होईन क्रान्तिकारी मानसिं शर्मा उर्फ कमरेड मुक्ति, अर्को कुरो हाम्रो पनि रगत रातो छ  तिमीहरुको जस्तै  । बाहुनको जस्तै रगत भएपछि हामि पनि बाहुन हौ  । अब बाहुन बस्तिमा बस्ने पालो हाम्रो हो  ।  घर छाड्ने पनि तयारी गर्ने ।हाम्रो मोर्चाले सामुहिक सफाय गर्न नपरोस ।

– लौ माने बौलाएछ । यस्तो पनि हुन्छ ।

– केरे हाम्रो रगत रातो हुदैन रे ! रातो छ रगत रातो छ  , रातो

(राम्प्यारीले भ्यात्त पानिमुताउरो खसाली; म त्यता फर्किएछु )

 मानसिं चिच्च्यायो “ए सत्य सुन्न नसकेर उता फर्किएको । सत्य यहि । हाम्रो पनि रगत रातो छ । तिमिहरुको जस्तै रातो छ रगत  ।“ मानसिं आफ्नै नियन्त्रण बाहिर थियो ।मौन बस्नुको अर्को विकल्प थिएन ।उ झनै आवेसमा चिच्याउन थाल्यो “नपत्त्याएको ।  पत्त्याएनौ ।  साच्चि नपत्त्यएको  । देखाईदिउ । ल हेर ।“ -उसले खुर्पेटोबाट खुकुरी झिक्यो र आफ्नै घाँटि सेर्यो र छ्वाल्ल रगत बगाउदै भुक्लुक्क लड्यो । यता राम्प्यारीले पाठो पाई । कस्को हो छुट्ट्याउनै नसक्नेगरि रगत मिसियो र बग्यो ।

मेरा खुट्टा लगलग काप्न थाले । थचक्कै बसे ।  मनमनै भने “ बिस्तारै बग्नुपर्ने चेतनाको खोलोमा  अचानक सुनामि आयो । थुक्क ! उग्र क्रान्तिकारी चेतना ।“

क्रान्तिकारी मोर्चाले शंख फुक्यो: ‘कमरेड मुक्तिको घाँटि रेटेर हत्या गरियो र उनको सबलाई सुँगुरको खोरमा फालियो।‘  प्रतिसोधको आगो दन्कियो । गाउमा बसी सक्नु भएन । हामी रातारात राजधानीतिर भाग्यौ । सक्ने भागे नसक्नेहरु कति त घरगोठसँगै उतै खरानि बने।

जातिय पहिचानको कुरो लिएर एन्जिओ आईएनजीओ गाउ छिरे । बिश्वकर्मा बस्तिलाई आरन मुक्त क्षेत्र घोषणा गरियो । जिवन बाँच्ने कला सिकाईयो। खोलाको बालुवा ,बगरको ढुङ्गा र बारीको माटोमा पैसा खानि खुले । जङ्गलको रुखसङ्ग भिसा साट्न पाईने भो । युबाहरु बिदेसिन थाले । छोरी बुहारिको बजार भाउ स्वत्तै बढ्यो।  केहि नहुनेले मिर्गौलाको पनि मुल्य पाए। जातिय पहिचान तिब्र गतिमा अघि बढ्यो । चोक चौतारो यसरी गफालय बने:

– धनजिते कुवँर कुजात भो । अब त्यसको पानी बार्नु पर्छ ।

– किन

– उसले पल्लो गाउको  सार्कीको घरमा गोरस र मकै खाएछ ।

– लु त्यस्को जात खसी गो नि ।

– त्यहि त भन्या –हामी भन्दा दलित भो त्यो । त्यसले छोएको पानी चल्दैन अब ।  

झण्डै १५ वर्ष पछि काम बिशेषले जिल्ला सदरमुकाम पुगेको बेला संयोग जुरेछ । मानसिंकि बुहारिलाई सदरमुकाम मै देखे ।  सुसुप्त अवस्थामा रहेको गाउको न्यस्रो ह्वात्तै बढेर आयो।  उसको पछि लागे।

०००००००

– उसले एउटा पसलमा  डाल्डा घिउ र अण्डा किनि ।  अर्को पसलमा दालमोठ , मकैको पिठो र डिब्बावाला अचार किनि । उ अर्को, अर्को र अर्को पसलमा छिर्दै किन्दै गरी ।  एउटा औषधि पसलमा फिस्स हाँसेर खास्-खुस गरि र खै के हो कुन्नि किनेर सिधै एउटा ठुलो हार्ड्वेयर पसलतिर हिडी ।  ०००००००

हार्ड्वेयर पसलमा सानोतिनो मेला लागेको जस्तै थियो । ओहो ! मानसिं खलक नै देखा पर्यो :

मानसिंको छोराले फलामको कराई जोख्दै थियो । मानसिंउसको भतिजो कोदलि र वेल्चा लिएर गोदामबाट बाहिरियो । एउटी केटि काकि यो धारिलो छ भन्दै छुरि छान्दै थिई । मानसिंकि बुढि साच्चिकै  बुढि भैइछे । सुर्ती माडेर नयाँ खुल्पिमा हाल्दै थिई । १०-१५ बर्ष पछिको कुरो- कतिलाई त चिनिन। धेरै नै थिए । पसलमा काम गर्नेहरुलाई भ्याई-नभ्याई थियो ।काउन्टरमा परिचित अनुहार नै देखियो । मेरा आँखा पसल माथि झुन्डाईएको होर्डिङबोर्डमा परे।

ठुलो अक्षरमा लेखिएको थियो:

भारतको मल्टिनेश्नल कम्पनि टाटाको अधिकृत बिक्रेता
—– जनता हार्डवेयर एण्ड सप्लायर्स —-
प्रो:  हरिश्चन्द्र आचार्य