कोभिडका कारण बढी जोखिम वर्ग बृद्धवृद्धा हुन् । यतिबेला घर, परिवार, समाज तथा राज्यले पनि विषेश ध्यान दिनुपर्ने अवस्था छ । बालबालिका तथा दीर्घरोगीहरु यसै पनि जोखिममा छन् । त्यसका साथै जेष्ठ नागरिकहरुलाई बचाउनु राज्यको जिम्मेवारी हो । विश्वमै कारोनाबाट मृत्यु हुनेहरुको संख्या बृद्धवृद्धाहरुकै बढी छ । मृतकको प्रतिशत हेर्दा अरु उमेर समूहका भन्दा बृद्धवृद्धाको मृत्यु बढी देखिएको छ । नेपालमा पनि यही अवस्था छ । त्यसैले महामारीका अवधिमा जेष्ठ नागरिकलाई सकेसम्म घरमा नै बस्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ भने घरमा पनि अन्य उमेर समूह वा घर बाहिर जानुपर्ने मानिससँगको सम्पर्कबाट अलग राख्न जरुरी छ ।
कोभिड–१९ संक्रमण तिब्र बन्दै गएपछि सामाजिक सुरक्षाबापत राज्यले दिने भत्ता लिन नागरिकलाई दुःख भएको छ । सामाजिक सुरक्षा भत्ता लिने वर्ग जोखिमयुक्त नै हुन्छन् । उनीहरुले बैंकमा पुगरे भत्ता लिन समस्या हुन थालेको छ । बैकहरुसमेत बन्द भएको अहिलेको अवस्थामा त उनीहरुलाई अझै समस्या थपिएको छ । जोखिम भएको वर्ग बैंक पुग्ने र लामो लाइनमा समेत बस्दा जोखिम बढ्दछ नै । जोखिम न्यूनीकरणका लागि यस्तो अवस्थामा उनीहरुको भत्ता घरघरमै पुर्याउने व्यवस्था गर्नु सबैभन्दा वैज्ञानिक हुन्छ । विगतमा वडा वा पालिकाहरुबाट दिइँदै आएको भत्तामा अनियमितता हुने भएपछि बैंकमार्फत् प्रदान गरिँदै आएको हो । तर यतिबेला महामारीको संक्रमणका कारणले भत्ता वितरणलाई सहज बनाउनु पर्दछ ।
कोभिड संक्रमण व्यवस्थापन केन्द्र मकवानपुरले सामाजिक भत्ता घरघर पुर्याउने व्यवस्था गर्ने निर्णय गरिसकेको छ । अशक्त, अपांगता भएका, एकल महिला तथा वृद्धवृद्धाहरुलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ताको रकम संक्रमणको अवधिभर घरमै पुर्याउन लगाउने प्रबन्ध हुन आवश्यक छ । बैंक नुखुलुञ्जेल वा निषेधाज्ञाका आवधिमा मात्र हैन कि, माहामारी नियन्त्रण नहुँदासम्म यो व्यवस्था लागू गर्न आवश्यक छ । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सावधानी अपनाउन कठिन हुँदै आएको छ । आउँदा–जाँदा यातायात साधनमा पनि संक्रमणको जोखिम छ भने लाइन बस्दा पनि त्यही समस्या हुने भएकाले कोभिड नियन्त्रण नभएसम्मका लागि कोरोना संक्रमण व्यवस्थापन केन्द्रले गरेको निर्णयको अवधि विस्तार गर्नु आवश्यक हुन्छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय हुनुअघि हेटौंडाका केही वडा कार्यालयहरुले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको थियो । परिवारका सदस्यहरुको अन्य आम्दानीको श्रोतसमेत नभएको यस्तो समयमा जेष्ठ नागरिकका लागि खर्च बढी आवश्यक हुनसक्ने भएकाले बैंकहरु खुल्ने समय थोरै भए पनि वडा कार्यालयहरुले भत्ता व्यवस्थापन गरिदिनु मानवीय दृष्टिकोणबाट पनि उपयुक्त हुन्छ । मानवीय संवेदनालाई समेत ख्याल गरेर स्थानीय जनप्रतिनिधिहरुले आफ्ना नागरिकलाई सेवा प्रदान गर्न अन्य उपायको खोजी गर्नु पर्दछ । तर यसरी वितरण गर्दा विगतमा हुने अनियमिततालाई भने नियन्त्रण गरिनु पर्दछ । यस्तो सेवाका लागि जनप्रतिनिधिको सेवाभाव महत्वपूर्ण हुन्छ ।