कोरोना संक्रमितहरुले पछिल्लो समय अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाइरहेका छन् । देशका ठूला अस्पतालहरुमा समेत अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना नगर्ने चेतावनी दिएको अवस्था छ । जीवनको अन्तिम आशा बनेको अक्सिजनको अभाव भइरहँदा पूर्ति गर्नेतर्फ पूर्वतयारी नभएकोप्रति नागरिकले प्रश्न गरेका छन् । भारतमा भएको महामारीमा अक्सिजनाको चरम अभाव भएको अनुभवका आधारमा नेपालमा पनि व्यवस्थापनको तयारी हुन आवश्यक थियो । तर जब अक्सिजन अभाव भएर ज्यान जान थालेपछि तयारी सुरु भएको छ । खरिद गर्नेदेखि स्थानीयरुपमा व्यवस्थापन हुँदै गरेको छ । तर अक्सिजन आइपुग्दासम्म कतिजनाले ज्यान गुमाउने हुन् भन्ने प्रश्न उठेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता अक्सिजनको अभावमा नेपालमा समेत बिरामीहरुको मृत्यु भइसकेको छ । होम आइसेलेसनमा बसेकामात्र हैन कि, अपस्पतालमा भर्ना भएकाले समेत अक्सिजन पाउन सकेका छैनन् । यो दुःखद् र भयानक संकटको व्यवस्थापन गर्न जिम्मेवार निकायको भूमिकामा यतिबेला अनेक प्रश्न उठ्ने गरेका छन् । अक्सिजन अभाव भएपछि देशका महत्वपूर्ण अपस्पतालहरुले बिरामी भर्ना लिन छाडेका छन् । यस्ता घटनाले कोरोना महामारीबाट हुने मानवीय क्षतिको आँकलन गर्न नै नसकिने अवस्था बन्दै गएको छ । विज्ञहरुले पनि भारतको भन्दा नेपालमा संक्रमण र मृत्युदर बढिरहेको बताएका छन् । यस्तो अवस्थामा अन्तिम विकल्पका रुपमा अक्सिजन उपलव्ध गराउन नसक्नु भनेको व्यवस्थापकीय कमजोरी र लापरबाह नै हो ।

हेटौंडा अस्पतालमा कोभिडका संक्रमितको उपचार थालिएको छ । यसले बिरामीहरुले केही सुविधाको अनुभूत गरेका छन् । अघिल्लो वर्ष भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो । यतिबेला हेटौंडा अपस्पतालमा कोभिडका लागि छुट्याइएका बेडहरु भरिभराउ भएका छन् । थप बिरामी आएमा भर्नाका लागि समस्या हुने भइसकेको छ । बेड थप गर्ने र त्यसका लागि पूर्वाधार व्यवस्थापनतर्फ पनि स्थानीय प्रशासनदेखि अस्पतालले ध्यान दिन आवश्यक छ । उपचार गराइरहेकामध्ये धेरै बिरामीहरुलाई अक्सिजन आवश्यक भएको छ । तर अन्य जिल्लाहरुमा भएजस्तै हेटौंडामा पनि अक्सिजनको अभाव देखिएको छ । केही सामाजिक संघसंस्था तथा मुख्यमन्त्रीसमेतको पहलमा केही दिनका लागि व्यवस्थापन भए पनि त्यो दीर्घ समाधान होइन ।

घरमा आगलागी भएपछि पानीको कुवा खन्ने भनेजस्तै अक्सिजन आवश्यक भइसकेको छ । तर उद्योग स्थापनाका लागि बल्ल छलफल सुरु भएको छ । भारतमा देखिएको महामारीसँगै उद्योग स्थापनाको तयारी गरेको भए भने यतिबेला उत्पादन सुरु भइसक्ने थियो । जेहोस् अक्सिजन प्लान्ट राख्ने विषयमा भएको छलफलले अको एक डेढ महिनापछि उत्पादन हुनसक्छ । तर हाललाई कहाँबाट कसरी आपूर्ति गर्ने भन्ने पक्षमा पनि गम्भीर हुन आवश्यक छ । हेटौंडा अपस्पतालमा एकातर्फ बेडको अभाव छ भने अर्कोतर्फ अक्सिजनको अभाव सुरु भएको छ । हाल दैनिक २ सय २० सिलिण्डर अक्सिजन आवश्यक छ । मकवानपुरमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरुमा भर पर्नुपरेको छ । रिफिल गर्न पठाइएका सिलिण्डर पनि उतै आवश्यक भएको भन्दै फिर्ता नआउने अवस्थाले संकटको गाम्भीर्यतालाई ध्यान दिई विकल्पको खोजी गरिनु जरुरी छ ।