हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुरमा मलको चरम अभाव भएको छ । समयमै मल आइनपुग्दा कृषकहरुलाई मकैमा मल हाल्न समस्या भएको छ । एकातर्फ जिल्लामा निषेधाज्ञा छ भने मल किन्न आउँदा मल पाइन्न । कृषक रामकृष्ण सिग्देलले भने । जिल्लामा ७० प्रतिशत मलको आपूर्ति कृषि सामग्री कम्पनि लिमिटेडले गर्दै आएको भएपनि बैशाख पहिलो सातादेखि मल आयात गर्न सकेको छैन ।
चैत्रको अन्तिमसम्म मलको अभाव नभएको तर बैशाखदेखि मलको नभएको कृषि सामग्री कम्पनि लिमिटेड हेटौंडा शाखाका लेखा अधिकृत छवि शर्माले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा पोटास मलमात्रै उपलब्ध भएको बताउनुभयो । मकवानपुरमा २४ दशमलब ३५ मेट्रिक टन पोटास मल भएको उहाँले बताउनुभयो । रासायनिक र डिएपी मल भने अहिलेको अवस्थामा दिन नसकिने उहाँको भनाई छ ।
नयाँ ठेकेदारले समयमै मल ल्याउन नसक्दा यस्तो भएको हुन सक्ने भन्दै जेठको पहिलो सातासम्म मल आइपुग्ने शर्माले बताउनुभयो । मलको माग जिल्लामा चौतर्फी भएपनि उपलब्ध गराउन नसकेको उहाँ स्वीकार गर्नुहुन्छ । यता जिल्लामा ३० प्रतिशत मलको पूर्ति गर्दै आएको साल्ट्र ट्रेडिङ कर्पोरेशन भने मलको अभाव सिर्जना नभएको बताउँछ । साल्ट ट्रेडिङ कर्पोरेशन मकवानपुरका प्रमुख शैलेश पाण्डेले थोरै थोरै मल आइरहेको बताउनुभयो । उहाँले अब आइतबार एक गाडी युरिया मल आइपुग्ने बताउनुयभो ।
‘मल आएपछि बाँड्नै पुग्दैन हामीले स्टक राखेका समेत छैनौं,’ उहाँले भन्नुभयो । पछिल्लो समय जिल्लामा माग ह्वतै बढेको छ । मलको मागअनुसार वितरण गर्न नसकिरहेको उहाँको भनाई छ । मल आएपछि सबै स्थानीय तहलाई मिलाएर उपलब्ध गराइरहेको पाण्डेले बताउनुभयो । यता अहिले जिल्लामा १ हजार मेट्रिक टन युरिया मल माग हुन सक्ने कृषि सामग्री कम्पनि लिमिटेडले अनुमान गरेको छ । कृषकले आवश्यक परेको समयमा मलको अभाव सिर्जना विगतदेखि नै हुँदै आएको छ ।