हेटौंडाः क्यान्सर रोगको उपचार गरिरहनुभएका मकवानपुर तेक्वान्दोका संस्थापक प्रशिक्षक दिलिप राजथलाको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ सहयोग रकम संकलन भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले राजथलाको उपचारका लागि उक्त सहयोग रकम संकलन गरेको हो ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष लालकाजी रत्न बज्राचार्य, कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, नेपाल तेक्वान्दोका चिफ कोच नविन कुमार लामा, सुमन खड्का, तेक्वान्दोका पूर्व खेलाडीहरु, पूर्व कार्यसमिति सदस्यहरु, १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडी संजिव ओझा, फापरबारी डोजाङ्ग प्रमुख सुनिल थिङ् तथा गैरीगाउँ तेक्वान्दो डोजाङ्ग प्रमुख शिबहरी राईलगायतबाट सहयोग रकम संकलन गरिएको जनाइएको छ ।
यस्तै चितवनका रक्षा फार्मका सन्चालक राजेन्द्र प्रसाद तिवारीले राजथलाको सम्पुर्ण औषधि उपचार सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष लालकाजी रत्न बज्राचार्यले बताउनुभयो । प्रशिक्षक राजथलाको चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
साथै थप उपचारका लागि ठूलो रकम लाग्ने भएकाले राजथलाको परिवारले सहयोगको अपिल गरेपछि मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिति अध्यक्ष लालकाजी रत्न बज्राचार्यको संयोजकत्वमा सहयोग रकम जुटाउने अभियान सुरु गरिएको बताइएको छ ।