गाउँपालिकाको बाल सञ्जालमार्फत् बाल अधिकारकर्मीका रुपमा सक्रिय हुनुहुन्छ, आशीष बुढाथोकी ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह हो । देशमा संघीयता कार्यान्वयनमा आइसकेपछि कायम भएका ७ सय ५३ स्थानीय तहमध्ये बालमैत्री घोषणा भएको मनहरी पहिलो स्थानीय तह हो ।

मनहरी गाउँपालिकामा ९ वटा वडा छन् । यी सबै वडामा ८८ वटा बाल सञ्जाल सक्रिय छन् । गाउँपालिकाको बाल सञ्जालमार्फत् बाल अधिकारकर्मीका रुपमा सक्रिय हुनुहुन्छ, आशीष बुढाथोकी । मनहरी गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष बुढाथोकी बालमैत्री कार्यान्वयन र बाल अधिकार प्राप्तिमा अहिले सक्रिय रहनुभएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ का बालबालिकाको स्थिति तथा अवस्थाको प्रायः आफूले अनुगमन गर्ने गरेको बताउनुहुन्छ, बुढाथोकी । करिब चार वर्षअघि विद्यालय स्तरबाट नै बाल क्लबमा संलग्न हुनुभएका बुढाथोकी अहिले गाउँपालिकाकै बाल अधिकारकर्मीका रुपमा क्रियाशील हुनुहुन्छ ।

मनहरी गाउँपालिकामा धेरै क्षेत्रहरु विकट भएकाले बालविवाहको समस्या बढ्दो स्थितिमा छ भने बालश्रम पनि उत्तिकै मात्रामा रहेको छ । कतिपय बालबालिकाले आफूखुसी विवाह गर्ने गरेका कारण बालविवाह न्यूनीकरणमा चुनौती भइरहेको बताउनुहुन्छ, बुढाथोकी । यस्तै, जबरजस्ती तथा ललाइफकाइ गरेर बालबालिकालाई काम लगाउने परिपाटी पनि गाउँपालिकामा समस्याकै रुपमा रहेको उहाँको भनाई छ । पहिला बालबालिका आफैं विवाह गर्दिन, बालविवाह गर्नु अपराध हो भन्ने कुरामा लाग्नुपर्ने बुढाथोकीले बताउनुभयो । मनहरी गाउँपालिका स्तरीय बाल सञ्जालले बालश्रम र बालविवाहलगायत दुव्र्यवहारविरुद्व टोलटोलमा सडक नाटक, जनचेतना र अनुगमन गरी कारवाही गरिरहेको उहाँले दावी गर्नुभयो ।

गाउँपालिका क्षेत्रका विभिन्न खोला तथा खहरेहरुमा प्रायः बालकहरु नदीजन्य पदार्थ उत्खनन् एवम् लोड गर्ने काममा प्रयोग भइरहेको अनुगमनले देखाएको बाल सञ्जालका अध्यक्ष बुढाथोकीले बताउनुभयो । लोथरलगायत बजार क्षेत्रका होटलहरुमा कामदारका रुपमा बालबालिका प्रयोग भएको पनि अनुगमनमा भेटिएको उहाँले जानकारी दिनुभयो । श्रममा लगाइएका केही बालबालिकालाई बाल सञ्जालले परिवारमा पुनस्र्थापना गराउन सफल भएको छ । होटलमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन भनेर आवाज उठाउँदा किन छुटाइस् भन्दै थर्काउने र धम्की दिने गरेको बुढाथोकीले गुनासो गर्नुभयो । आफ्नो गाउँमा बालविवाह रोक्नखोज्दा ‘आफूखुसी विवाह गरेको हो, आफ्नो बच्चाले विवाह गरोस् या जे सुकै गरोस्’ भनेर मर्ने धम्कीसमेत दिने गरेको बुढाथोकीको अनुभव छ ।

२०७६ साल पुस २८ गते मनहरी गाउँपालिका बालमैत्री घोषणा भए पनि अझै बालविवाह र बालश्रम, यौन दुव्र्यवहार तथा बलात्कारका घटना अन्त्य हुन सकेको छैन । मनहरीमा प्रायः पछाडि पारिएका चेपाङ जातिमा बालश्रम र बालविवाहको समस्या बढी रहेको उहाँले बताउनुभयो । वडा नम्बर ४ मा मात्र आफ्नो नेतृत्वमा ४ वटा बालविवाह र केही बालश्रम रोक्न सकेको र यो धेरै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । पढाइदिन्छु भन्दै प्रलोभन पारेर होटलमा काम गर्न लाने तर होटलका सञ्चालकले नपढाउने गरेको स्थिति रहेको बुढाथोकीले बताउनुभयो । होटल सञ्चालकले बालबालिकालाई काममा लगाएर उचित पारिश्रमिकसमेत नदिने उहाँले जानकारी दिनुभयो ।

बालश्रमबाट उद्दार गरिएका केही बालबालिकालाई उनीहरुको अभिभावकको जिम्मा लगाए पनि केही बालबालिका भने अभिभावकविहीन भएकाले समस्या भइरहेको उहाँले बताउनुभयो । कतिपय होटल सञ्चालकहरुले अभिभावकको सहमतिमा बालबालिकालाई काममा राखेको र छाराछोरीजस्तै गरी राखेको बताउँदा समस्या भएको बुढाथोकीको भनाई छ । गरिबी, चेतनाको कमीका कारण पिछडिएका क्षेत्रमा बसोबास गर्नेहरुमा यस्ता समस्या बढी पाइएको उहाँले जानकारी दिनुभयो । यस्तो समस्या न्यूनीकरणका लागि जनचेतनाका साथै शिक्षाको पहुँच बढाउनु आवश्यक रहेको हुँदा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बुढाथोकीले बताउनुभयो ।