पसल खोल्ने समय बढाउन हेटौंडाका व्यवसायीहरुले माग गर्न थालेका छन् । व्यावसायिक दृष्टिकोणबाट माग जायज नै हो । तर जनस्वास्थ्यका तर्फबाट हेर्दा स्वभाविक छैन । व्यवसायीहरुले किसानका उत्पादनको विक्री नभएको भन्दै विक्री समय थप गर्न माग गरेका हुन् । हेटौंडामा यतिबेला विहान ३ घण्टा मात्र पसलहरु सञ्चालनका लागि अनुमती छ । अत्यावश्यक सेवा बाहेकका तरकारी, फलफूल, खाद्यान्न जस्ता पसलहरु तीन घण्टा सञ्चालन गर्न सकिन्छ । यही अवधिमा उपभोक्ताहरुले खरिद गर्नु पर्ने हुन्छ । कोरोना महामारी विरुद्धको लडाईमा नागरिकका तर्फबाट पनि साथ खोज्दै राज्यले निषेधाज्ञा लागु गरेको हो । कोरोना भाइरस नियन्त्रणको एउटा मात्र प्रभावकारी उपाय निषेधाज्ञाको समय बढाउनु पर्ने जनस्तरको माग छ भने व्यवसायीहरुले घटाउन माग गरेका छन् ।
कोरोनाले सबै क्षेत्र प्रभावित भएको छ । किसानका दैनिक उत्पादनलाई बजारमा पु¥याउन समस्या छ भने पुगेको उत्पादन विक्री नभएपछि गाईवस्तुलाई नै खुवाउनु पर्ने बाध्यता छ । हेटौंडा बजारमा आउने तरकारी लामो दूरी पार गरेर आउने तर विक्री नभएपछि खेर फाल्नु परिरहेको छ । उपभोक्ताले सकेसम्म ताजा तरकारी खोज्ने हुँदा बासी तरकारी फाल्नुको विकल्प छैन । उत्पादनको उचित विक्री नहुनु भनेको व्यवसायीको घाटा भन्दा पनि किसानको नोक्सानी बढी हो । तर व्यवसायीहरुले किसानका तर्पmबाट वकालत गरेका हुन् वा हैनन् भन्ने प्रश्न पनि छ । थोरै विक्रीले कम नाफा भएकोमा मात्र व्यवसायीहरु चिन्तित् भएका त हैनन् ? अनि किसानलाई घाटा भएको बहानामा आफ्नो मुनाफा बढाउने दाउ पनि हुन सक्छ ।
विशेषगरी हेटौंडामा तरकारी व्यवसायीहरुले पसल खुल्ने समय बढाउन माग गरेका छन् । तरकारी बिक्री नभएपछि व्यवसायीहरुले समय बढाउन माग गरेका हुन् । उनीहरुले साँझ २ घण्टा थप वा बिहानै २ घण्टा बढी बजार खुलाउन माग गरेका हुन् । समय थप गर्दैमा व्यवसाय बढ्छ भन्ने सुनिश्चित त हुँदैन । तर बजार खुल्ने समय बढाउँदा केही फरक भने पक्कै पर्ने छ । तोकिएको समयमा आवश्यक पर्ने उपभोक्ताहरु जसरी पनि बजारमा पुग्दछन् । व्यावसायिक दृष्टिकोणबाट समय थप गर्ने माग स्वभाविक भए पनि कोरोना रोकथामका लागि यो कति उपयोगी वा घातक हुन सक्छ भन्ने विश्लेषण पनि आवश्यक छ । व्यावसायिक दृष्टिकोणलाई मात्र ध्यान दिने हो भने त निषेधाज्ञाको आवश्यकता नै पर्ने थिएनन् ।
महामारीमा किसानदेखि थोक तथा खुद्रा व्यवसायी सबै नै मारमा परेका छन् । तर नाफा र घाटा भन्दा पनि स्वास्थ्य सुरक्षा बढी आवश्यक हो । हुन त कोरोना लाग्ने समय निर्धारित हुँदैन । जतिबेला पनि संक्रमण हुन सक्छ । त्यसैले समय निर्धारण भन्दा पनि सावधानी पहिलो कुरा हो । यदि सबै नागरिकले सावधानी अपनाउन सक्ने हो भने जति सुकै बेला पनि पसल खुल्ला गर्दा फरक पर्ने छैन । प्रत्येक व्यक्तीको आचरणले कोभिड संक्रमण निर्धारण हुने गर्दछ । नागरिक जीवन सहज बनाउनु सबैको जिम्मेवारी हो । नागरिकले पनि आफ्नो कर्तव्य पालना गर्न सक्नु पर्दछ । माग राख्ने र दोष दिने भन्दा कर्तव्य पालना गर्ने तर्फ होशियार हुने हो भने व्यापार व्यवसाय गरेरै कोभिड विरुद्धको लडाई लड्न सहयोग पुग्न सक्छ ।