बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्तावपत्र बुझाउँदै ।

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सञ्चार माध्यमलाई उद्योगका रुपमा समेट्न माग गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई महासंघले प्रस्तावपत्र बुझाउँदै प्रदेशभित्र सञ्चालित सञ्चार माध्यमलाई उद्योगमा समेटेर अन्य उद्योगसरह ऋण, सहुलियतलागयतका सहयोग प्रदान गर्न माग गरेको हो । त्यसभित्र पनि साना र स्वरोजगारमूलक लगानीका सञ्चार माध्यमले प्राथमिकता पाउनुपर्ने महासंघले माग गरेको छ ।

महासंघका अध्यक्ष शिव देवकोटाले आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालसमक्ष प्रस्तावपत्र बुझाउँदै अन्य उद्योगलाई जस्तै सञ्चार उद्योगलाई पनि समान व्यवहार गरी राज्यबाट पाउने ऋणलगायतका सहुलियत प्रदान गर्न माग गरिएको हो । अध्यक्ष देवकोटाले हाल प्रदेशभित्र सयौं साना लगानीका मिडियामा करोडौं लगानी भएपनि दीर्घकाल सञ्चालन गर्नसक्ने अवस्था नभएको र समानुपातिक विज्ञापन उपलब्ध नहुँदा बारम्बार धरासायी बन्दै गएको मन्त्रीसमक्ष जानकारी गराउनुभयो ।

साना लगानीका सञ्चार माध्यमलाई उद्योगका रुपमा समेट्नेमात्र नभई आवश्यक सामग्री खरिदका लागि सहुलियतपूर्ण ऋण प्रवाहका योजना अघि सार्नुपर्ने महासंघले माग गरेको छ । महासंघले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चारग्राम निर्माण, पत्रकारका लागि विभिन्न चरणमा लेखनवृत्ति, तालिम, पत्रकारको क्षमता विकासका लागि विविध योजना समेट्न ध्यानाकर्षणसहित प्रस्तावपत्र पेश गरेको महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

प्रस्तावपत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले सञ्चार माध्यम र पत्रकारका लागि आवश्यक योजनालाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी छलफल अघि बढाउने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले महासंघसँग सहकार्य गरेर पत्रकारका लागि तालिम, लेखनवृत्ति र क्षमता विकासका लागि नयाँ योजनालाई प्राथमितामा राखेर अघि बढ्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले पत्रकारको हकहितका लागि प्रदेश सरकारले अघि बढाउन सक्ने योजनलाई प्राथमिकतामा राख्न आफू तयार रहेको धारणा राख्नुभएको छ । उहाँले सञ्चार माध्मयलाई उद्योगका रुपमा विकास गर्नसके सञ्चारकर्मीको दीर्घकालीन विकासमा टेवा पुग्ने हुनाले त्यसतर्फ सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्दै यसबारे नीतिगत निर्णय गर्न आफू तयार रहेको बताउनुभएको हो ।

यसैगरी महासंघले सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसमक्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने पत्रकारका लागि स्वास्थ्य क्षेत्रबाट हुनसक्ने सबै सहयोग तत्काल अघि बढाउन माग गरेको छ । महासंघका अध्यक्ष देवकोटाले मन्त्री बस्नेतसमक्ष प्रस्तावपत्र पेश गर्दै मन्त्रालयले पहिलो डोज कोरोनाको खोप लगाउन छुटेका पत्रकारका लागि तत्काल सुरक्षित तवरबाट खोपको व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

महासंघले स्नातक र स्नात्तकोत्तर अध्ययन गर्न चाहने पत्रकारका लागि अगामी आर्थिक वर्षबाट छात्रवृत्ति व्यवस्था गर्नसमेत माग गरेको छ । मन्त्री बस्नेतले महासंघले पेश गरेको प्रस्तावलाई आगामी नीति तथा कार्यक्रममा समेट्न आफ्नोतर्फबाट मन्त्रिपरिषद्मा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।