जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमनलाई तिव्रता ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमनलाई तिव्रता दिएको छ । सोमबार हेटौंडा बजारमा बिहान एक घण्टा अनुगमन गरेको प्रशासन कार्यालय नेतृत्वको अनुगम टोलीले मंगलबार मनहरी बजार क्षेत्रको अनुगमन गरेको हो ।

निषेधाज्ञाकै बीच जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा मंगलबार मनहरी बजार क्षेत्र लक्षित रहेर अनुगमन गरिएको थियो । अनुगमन टोलीले मनहरी बजारको एक पसलबाट म्याद गुज्रिएको सामान जफत गरेर सबैको अगाडि नष्ट गर्न थालेपछि बजारका अन्य व्यवसायीले पसल बन्द गरेर असहयोग गरेका हुन् । ‘अनुगमन टोली मनहरी बजारको एउटा मिनी मार्केटमा थियो’, अनुगमन टोलीका सदस्य बासु खतिवडाले भन्नुभयो– ‘टोलीले अनुगमन सुरु गरेको देखेपछि नजिकै रहेको पाथीभरा सप्लायर्सको सटर बन्द भयो । त्यसपछि सबैले सटर बन्द गर्न थाले ।’

अनुगमन टोलीले मनहरीको एमजी मिनी मार्टलाई दश हजार रुपैयाँ जरिवाना गरेको छ । म्याद गुज्रिएको र खरिद बिल नभएको सामान बिक्री गर्न राखेको भन्दै अनुगमन टोलीले दश हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानले बताउनुभयो । यसैगरी संगीता किराना पसलबाट म्याद गुज्रेको खाद्य सामग्रीहरु जफत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, घरेलु कार्यालय मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रतिनिधिसहितको अनुगमन टोलीले मनहरी बजारको मेडिकलहरुको पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा मनहरी बजारमा रहेको बसन्त फार्मेसीको दर्तावाला र सञ्चालक फरक रहेको पाइएको छ । ‘मेडिकलको दर्ता एउटाको नाममा छ, तर सञ्चालक अर्कै रहेको पाइयो’, उपभोक्ता हित संरक्षण मञ्चका खतिवडाले भन्नुभयो, ‘पछि बुझ्दा दर्ता भएको र लाइसेन्स पाएका व्यक्ति अहिले अन्तै बस्दारहेछन् ।’ अनुगमन टोलीले फार्मेसीलाई तत्काल बन्द गर्न निर्देशन दिएएको छ । डा. दीपेन्द्र पौडेलको नाममा दर्ता रहेको फार्मेसी अर्कै व्यक्तिले चलाइएको पाइएको उहाँले जानकारी दिनुभयो ।

मनहरीकै प्रजा मेडिकलले मेडिकल सञ्चालनको अनुमति लिएर बिरामी जाँच गर्दै आएको पाइएको छ । मेडिकलले ६ वटा बेड राखेर बिरामी जाँच गरेको पाइएपछि दर्ता प्रक्रियामा आउन अनुगमन टोलीले निर्देशन दिएको छ । फार्मेसीको अनुमति लिएर बेड राखी बिरामी जाँच्ने गरेको हेटौंडाको शाह मेडिकललाई पनि सोमबार अुनगमन टोलीले दर्ता गर्न निर्देशन दिएको थियो । शाह मेडिकललाई एक वर्षअघि नै अनुगमनको क्रममा दर्ता गर्न निर्देशन दिएपनि अहिलेसम्म दर्ता नगरी क्लिनिक सञ्चालन गरेको पाइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले जानकारी दिनुभयो ।

निषेधाज्ञाकै बीच खाद्यान्नलगायत अन्य वस्तुहरुको बजार मूल्य बढाउने गरेको भन्दै सतर्क गराउन पनि अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत न्यौपानले बताउनुभयो । उहाँले जिल्लाको सबै क्षेत्रमा अनुगमन हुने जानकरी दिनुभयो । अनुगमन समिति आएपछि पसल बन्द गर्ने मनहरीका व्यवसायीका बारेमा उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराएपछि संघले जिल्ला प्रशासन कार्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन भनिएको उहाँले जानकारी दिनुभयो ।