‘दैलो’ चलचित्र सुरेश उप्रेतीद्वारा रचित र निर्देशित नेपाली समाजको एउटा सत्य घटनामा आधारित नेपाली चलचित्र हो । जसको मुख्य पात्रको रुपमा दुर्गा सर रहेका छन् । उनी आफ्नो गाउँको विद्यालयमा शिक्षक हुन्छन् । उनलाई उनको बानी व्यवहार असल कार्यले गर्दा सम्पूर्णले गाउँ र गाउँलेहरुले आदर सम्मान गर्थे । गाउँको हित चाहाने र बालबालिकालाई राम्रो शिक्षा दिने, राम्रो आचरण भएका उनको आफ्नो कान्छो छोरा भने कुलतमा लागेको थियो त्यसैगरी जेठो छोरा बुहारीको कुरामा लाग्ने स्वभावका थिए तर उनको छोरी भने उनी जस्तै स्वभावको सुन्दर, सुशील र गुणवान् थिइन् । लामो समयको शिक्षण पेशाबाट उनले अवकाश प्राप्त गरेपछि आफ्नै बाल्यकालको मित्रको छोरासँग आफ्नो छोरीको विवाह गरिदिने निधो गरिदिए । त्यसैगरी घरमा जेठो छोरा बुहारीलाई अमेरिका पठाउने कुरा पनि भइसकेको र भिजा पनि आइसकेको थियो । उनका मित्र भने उनको छोरीलाई मात्रै आफ्नो घरमा भित्र्याउन पनि तयार थिए तर उनकी मित्रकी पत्नी भने लोभी र लालची स्वभावकी थिइन् जसले गर्दा उनी अलि खुसी देखिन्न थिइन् ।
यसै क्रममा दुर्गा सरकी धर्मपत्नी दामनताले आफ्नो हुनेवाली सम्धिनीको कुरा सुन्छिन् र छोरीको विवाह धुमधामसँग गर्नुपर्छ भनी दुर्गासरलाई भन्छिन् । विवाह मात्र गर्दा नि दुर्गा सरको सञ्चयकोषमा रहेको सम्पूर्ण पैसा सकिन्छ र घर धरौटी राखेर छोरा–बुहारीलाई अमेरिका पठाउँछन् । त्यसपछि घरमा दुर्गा सर, दुर्गा सरकी श्रीमती र उनको अल्लारे कान्छो छोरो मात्र बाँकी रहन्छ । अचानक एकदिन उनकी श्रीमती ‘दामनता’ चक्कर लागेर लड्छिन् र अस्पताल गएपछि ‘ब्रेन ट्युमर’ भएको र उपचारका लागि पच्चिस लाख लाग्ने भनेपछि उनले आफ्नो जेठो छोरालाई फोन गरेर सम्पूर्ण वृत्तान्त बताउँछन् तर उता छेराले घर किन्न लागेकाले पैसा छैन भनेपछि दुर्गा सरको मुटु भक्कानो भएर आउँछ । उनी अस्पताल बाहिर दुःखी भएर जीवन र मरणको दोसाँधा बसिरहेको समयमा उनका पूर्व विद्यार्थी जीवन (जो अहिले त्यही अस्पतालमा डाक्टर भएको हुन्छ ।) सँग भेट हुन्छ । उनले आफ्नो श्रीमतीको अवस्था र छोराले पैसा नभएको कुरा भने पछि जीवनले आफूप्रति दुर्गा सरले गरेको योगदान र सहयोग सम्झेर उनलाई सहयोग गर्छन् । उनकी श्रीमतीको अप्रेशन निःशुल्क गरिदिन्छन् ।
आफ्नो सन्तानलेसम्म यस्तो अवस्थामा नहरेको तर आफूद्धारा अध्यापन गराएको विद्यार्थीले सहयोग गरेको देख्दा उनी अत्यन्त खुसी हुन्छन् । त्यसै क्रममा उनीद्वारा लिखित ‘दैलो’ नामक उपन्यास पनि डाक्टर जीवनले छापेर पुस्तक प्रकाशन गरिदिए । जुन पुस्तक धेरै मात्रामा विक्री भयो र दुर्गा सर पनि सम्पन्न र सुखी भए । उनले आफ्नो सम्मान कार्यक्रममा आफ्नो सन्तानले साथ छोडिसकेको अवस्थामा डाक्टर जीवनले आफूलाई साथ दिएको र सन्तानको खुसीका लागि आमाबुबाले मरिमेटी गरेपनि आमाबुबालाई आवश्यक परेको बेला नहेर्ने छोराछोरी हुनुभन्दा नभएकै वेश भनेर भनेका छन् । आफ्नी छोरी जो विवाहित भएपनि दिनरात आमाको सेवा गर्न र आफ्नो गरगहना बेचेर आमाको उपचार गर्न पैसा जम्मा गरेको थिइन् । उनले आफू जस्तो छोरी सबैले पाऊन् भनेर भनेका छन् ।
हाम्रो समाजमा दुर्गा सर जस्तो कति मानिसहरु छन् । जसले आफ्नो सन्तान र भविष्यका लागि जे पनि गर्न तयार हुन्छन् तर उनीहरुले आफूहरु सफल भएपछि आमा बुबालाई फर्केर नहेर्ने आमाबुबालाई वृद्धाश्रम पठाउने गर्छन् । यो हाम्रो समाजको एउटा घृणा लाग्दो सत्य कथा नै हो । भनिन्छ, घर मन्दिर हो र आमाबुबा देवी देवता तर वर्तमान समाजमा देवता नै घरविहिन हुनुपरेको देखिन्छ । जसले गर्दा छोराछोरीलाई शिक्षादिशा दिनुको साथै असल आचरण, परिवारको महत्व पनि बुझाउनु जरुरी देखिन्छ । सायद वृद्धाश्रममा जाने आमाबुबाहरुको सङ्ख्यामा कमी आउँछ कि । तर पनि अभिभावकले आफ्नो बारेमा सोच्नु जरुरी छ । किनभने यो स्वार्थी संसारमा अलिकति स्वार्थी हुनु जरुरी छ । यस चलचित्रले पनि यिनै कुराको प्रस्तुत गर्न खोजेको छ ।