हेटौंडा अस्पतालमा विरामीहरुको चाप बढेपछि बेडको अभाव सुरु भएको छ । मानिस विरामी पर्ने मौसम सुरु हुँदै गर्दा एउटै बेडमा धेरै जना विरामी राख्नु पर्ने अवस्था छ । यसले प्रदेशको राजधानीमा स्वास्थ्य क्षेत्रको अवस्थालाई प्रष्ट्याउँदछ । हेटौंडा अस्पतालको इमर्जेन्सीमा उपचार गराउन आउने बिरामीको चाप उल्लेख्य भएपछि बेडको अभाव हुने गरेका हो । इमर्जेन्सीमा उपचारका लागि आउने बिरामीलाई बेड अभाव भएपछि एउटै बेडमा एकभन्दा बढी बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ । बेड मात्र हैन कि हेटौंडा अस्पतालमा निकै कुराको अभाव हुने गरेको छ । स्वास्थ्य बीमाका कारण परीक्षण गर्न आउनेहरुको संख्याको आधारमा क्षमताकै अभाव देखिएको छ ।
कोरोना महामारी फेरी बढ्दै गएको छ । विशेषगरी अस्पतालहरुले उपचारका क्रममा सावधानी अपनाउनु पर्ने हो । तर अस्पतालबाटै कोरोना संक्रमण फैलने जोखिम बढेको छ । मानिसहरुको उपस्थिति अनुसार व्यवस्थापन गर्न हेटौंडा अस्पताललाई कठिनाई हुन थालेको हो । टोकन लिएका विरामीहरुलाई आराम गर्ने स्थानकै अभाव छ । अस्पतालमा भएका साधन श्रोत भन्दा बढी सेवाग्राही आउने गरेपछि समस्या देखिएको हो । लामो लाईन बसेर काउण्टरमा पुगेपछि औषधि छैन भन्ने जानकारी पाउँदा विरामीहरुलाई निकै कठिनाई हुने गरेको छ । सामान्य विषयमा समेत अस्पताल प्रशासनले सहजीकरण गर्न सकेको छैन । त्यति मात्र हैन कि बीमामा पर्ने मध्येका धेरै प्रकारका औषधि हेटौंडा अस्पतालको औषधालयमा पाइँदैन । औषधि नपाइएको कुराको जवाफदेही लिन कोही पनि तयार देखिँदैनन् ।
स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आदेश दिए पनि अस्पतालमा एउटै बेडमा ३ जना बिरामी राखिएका छन् । यसले सरकारी निर्देशन औपचारिकतामा मात्र सीमित गर्ने काम सरकारबाटै भएको प्रष्ट छ । रिफर सेन्टरका रुपमा मात्र रहेको हेटौंडा अस्पताल पछिल्लो समय निकै सुधारिएको छ । तर विशेषज्ञ सेवा अझै पर्याप्त हुन सकेको छैन । केही डाक्टरहरुलाई आचारसंहिता विपरित काम गरेको भन्दै निष्कासन गरेको छ । तर रिक्त भएको पदमा अर्को डाक्टरको व्यवस्थापन हुन सकेको छैन । भएका डाक्टरले राम्रो सेवा नदिने र अरुलाई भर्ना गर्न नसक्ने अवस्था हो भने सरकारी अस्पतालप्रति आम नागरिकले कुन दृष्टिकोण बनाउने ? धेरै प्रकारका रोगबाट पीडितहरु अस्पताल पुगे पनि सुरक्षित सेवा पाउनेमा ढुक्क हुन सक्ने अवस्था छैन ।
ल्याबमा हुने भिडले कार्यरत प्राविधिकलाई सहज छैन । भिडमा गरिएका नमूना संकलन र परीक्षणमा थोरै पनि त्रुटी भए नजिता फरक पर्ने देखिन्छ । अव्यवस्था र भिडभाडका कारण ल्याबबाट रिपोर्ट आउन निकै समय लाग्ने गर्दछ । सामान्य विरामी त कुर्लान् तर इमर्जेन्सी रिपोर्ट पनि समयमा नआउने समस्या छ । घण्टौ लगाएर रिपोर्ट आउँदा उता डाक्टरको ड्यूटी आवर सकिसकेको हुन्छ । जतिसुकै भिड वा ढिला सुस्ती भए पनि विरामी भएपछि अस्पतालको विकल्प छैन । त्यसैले चालु आर्थिक वर्षको चैतसम्म ९ हजारभन्दा बढी पुरुष र करिब १२ हजार महिलाले हेटौंडा अस्पतालको इमर्जेन्सीबाट उपचार सेवा लिएको देखिन्छ । यस्तो भिडभाड हुने क्षेत्रलाई थप व्यवस्थित गर्ने तर्फ सम्बन्धित निकायबाट सक्रियता देखाउन आवश्यक छ ।