बर्षको चक्र अनुसार नयाँ बर्ष सुरु भएको छ । बैशाख १ गते नेपाली सम्वत् सुरु भएको छ । विक्रम सम्वत् अनुसारको बैशाख १ गते बर्षको पहिलो दिन हो । यो दिनलाई देश तथा विदेशमा रहेका नेपालीहरुले विशेष दिन र पर्वकै रुपमा मनाउने गर्दछन् । बर्षको पहिलो दिन भएकाले नयाँ सोच, चिन्तन र सुरुवात गर्ने दिनका रुपमा लिने गरिन्छ । विदेशी नयाँ बर्ष धुमधामसँग मनाउने नयाँ पुस्ताले पनि बैशाख १ गतेलाई उमंगका साथ लिन थालेको पाईन्छ । नयाँ बर्षको अवसरमा नेपालका धेरै स्थानमा मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना हुने गर्दछन् । बैराग्यभाव बिर्सिएर नयाँ सुरुवात गर्ने दिनका रुपमा बैशाख १ गतेलाई लिइने गरिन्छ ।

प्रत्येक बर्ष बैशाख १ आउँछ र जान्छ । तर २०७७ साल विश्वकै लागि सुखद हुन सकेन । कोरोनाबाट विश्व नै त्राहीमाम् बन्यो । नेपाल पनि यसको दुष्परिणामबाट अछुतो रहन सकेन । ३ हजार बढी नेपालीको मृत्यु भएको छ । समाजका सबै क्षेत्र कोरोनाबाट पीडित नै बन्यो । लामो समयसम्म नेपाली समाज बन्द जस्तै भयो । लकडाउनका कारण अस्त व्यस्त भएको शैक्षिक, आर्थिक, स्वास्थ्य, पर्यटन लगायत सबै क्षेत्र विस्तारै तंग्रिने प्रयासमा छ । तर नयाँ बर्षमा पनि २०७७ सालकै निरन्तरता हुने त हैन भन्ने संकेतहरुसँगै आएका छन् । नयाँ बर्ष लाग्नै लाग्दा पुरानै महामारीको सन्त्रास पनि सँगै भित्रिने अशुभ संकेतहरु देखिएका छन् ।

राजनीतिक रुपमा पनि गएको बर्ष सुखद हुन सकेन । नेपालको राजनीतिक इतिहासमा कम्यूनिष्ट पार्टीहरु एक भएको अवस्थालाई २०७७ सालले सहन सकेको देखिँदैन । कोरोना महामारीका बीचमै दलहरु बीच मनमुटाव बढ्दै गएर अन्ततः जनमतबाटै ठूलो दल बनेको सत्तारुढ दल विभाजनको अवस्थामा पुग्यो । यस कुरालाई अदालतबाटै बैधता प्रदान गरिएको छ । कानूनी विषय जे भए पनि राजनीतिक दृष्टिकोणबाट बल्लबल्ल एक भएको कम्युनिष्ट आन्दोलन विभक्त हुनुले आम नागरिकमा निराशा मात्रै बढाएको छ । सत्तारुढ दल भित्रको विवादले विकास छोडेर सरकारमा रहेकाहरुले कुर्सी जोगाउनमै ध्यान दिँदा नागरिकका आवश्यकता ओझेलमा परेका छन् । नयाँ बर्षमा सरकार र सत्ता भन्दा जनताका आवश्यकता सम्वोधन हुन सक्नु पर्दछ ।

नयाँ बर्षले पुराना खराब पक्षको अन्त्यसँगै नयाँ जोस जाँगर र उमंग बोकेर आउँदैछ । यसका लागि नेतृत्वदेखि नागरिक तहको समृद्धिको चेतना बढ्नु पर्दछ । समस्या हैन समाधानको खोजी हुन पर्दछ । पुरानो बर्षका दुखद् क्षण र पक्षको अन्त्य गर्न नयाँ दृष्टिकोण र कार्यायोजना आवश्यक छ । दलीय एकता कायम हुने, जनताले ठूलो बलिदानी दिएपछि प्राप्त भएका उपलव्धिको रक्षाका लागि व्यक्तिगत स्वार्थ परित्याग गर्न आवश्यक हुन्छ । पुरानै मानसिकता रहेसम्म नयाँ बर्षले कुनै परिवर्तन दिन सक्ने छैन । देश विकास र नागरिक अधिकार रक्षाका लागि व्यक्तिगत अहम्ता छोडेर सबै दल बीचको सहकार्य र एकता नयाँ बर्षले प्रदान गरोस् । आम नेपालीको सुस्वास्थ्य समृद्धि र आरोग्यताको कामना सहित नयाँ बर्ष २०७८ को शुभकामना ।